धादिङ समाज जापानका अध्यक्ष विमल श्रेष्ठले आफ्नै खर्चमा नलाङ माविलाई एक वर्ष आईसीटी शिक्षक दिने

Avatar photo
Dhadingpost
असार १३, २०८३

धादिङ । धादिङ समाज जापानका अध्यक्ष विमल श्रेष्ठले आफूले अध्ययन गरेको नलाङ माध्यमिक विद्यालय, चरिमारेको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि एक वर्षसम्म आफ्नै व्यक्तिगत खर्चमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) शिक्षकको व्यवस्था गर्ने घोषणा गरेका छन् ।

जापानबाट घर आएका बेला विद्यालयमा आयोजित अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति पुनर्गठन कार्यक्रममा सहभागी हुँदै श्रेष्ठले उक्त घोषणा गरेका हुन् ।

विद्यालयमा प्रविधिमैत्री शिक्षणलाई प्रभावकारी बनाउन र विद्यार्थीहरूलाई सूचना प्रविधिसम्बन्धी ज्ञान तथा सीप हासिल गर्न सहयोग पुग्ने उद्देश्यले एक वर्षका लागि आईसीटी शिक्षकको तलब–भत्ताको सम्पूर्ण खर्च आफूले व्यहोर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

घोषणा गर्दै श्रेष्ठले आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक विकासमा सानो भए पनि योगदान गर्न पाएकोमा खुसी लागेको बताए । उनले आगामी दिनमा पनि विद्यालयको समग्र विकासका लागि आवश्यक सहयोग गर्न तयार रहेको धारणा राखे ।

श्रेष्ठको घोषणापछि कार्यक्रममा सहभागी अभिभावक, शिक्षक तथा स्थानीयवासीहरूले उनको पहलको प्रशंसा गर्दै यसले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।