धादिङबाट रास्वपा केन्द्रीय सदस्यमा आठ जनाको उम्मेदवारी

Avatar photo
Dhadingpost
असार १०, २०८३

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि धादिङबाट आठ जनाले उम्मेदवारी दिएका छन् । पार्टीको ९९ सदस्यीय केन्द्रीय समितिका लागि देशभरबाट चार सयभन्दा बढी आकांक्षीले उम्मेदवारी दर्ता गराएका हुन् ।

धादिङबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनेहरूमा धादिङबाट प्रत्यक्ष निर्वाचित संघीय सांसद बोदनारायण श्रेष्ठआशिका तामाङ रहेका छन् । त्यसैगरी हिमेश पन्त, उपेन्द्र पाण्डे, केशवराज अधिकारी, प्रकाश सुवेदी, प्रदीप तिमल्सिना (साजन) तथा कृष्णमान श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

रास्वपाले केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान प्रणालीमार्फत निर्वाचन गर्ने तयारी गरेको छ । मतदानबाट निर्वाचित हुने ९९ जना केन्द्रीय सदस्यहरूमध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने जनाइएको छ ।

पार्टीका अनुसार मतदानका लागि विद्युतीय उपकरण प्रयोग गरिनेछ भने विदेशमा रहेका प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्न सक्ने व्यवस्था गरिएको छ । निर्वाचनमा करिब चार हजार प्रतिनिधिले मतदान गर्ने अपेक्षा गरिएको छ ।