
धादिङ । नीलकण्ठ नगरपालिकाले शैक्षिक गुणस्तर सुधार तथा उत्कृष्ट कार्य गर्ने विद्यालय, शिक्षक र विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्ष पनि नगदसहित सम्मान गरेको छ । नगरपालिकाले एसईई र आधारभूत तह (BLE) परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक तथा विद्यार्थीलाई लाखौं रुपैयाँ बराबरको नगद पुरस्कारसहित सम्मान गरेको हो ।
नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने दुई सामुदायिक विद्यालयलाई ४/४ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ । सम्मानित हुने विद्यालयहरूमा भैरवी माध्यमिक विद्यालय र शंखादेवी माध्यमिक विद्यालय, ज्यामरुङ रहेका छन् ।
त्यसैगरी कक्षा ८ को आधारभूत तह (BLE) परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने सात विद्यालयलाई ५०/५० हजार रुपैयाँका दरले सम्मान गरिएको छ । सम्मानित विद्यालयहरूमा शंखादेवी मावि नीलकण्ठ–१, महेन्द्रोदय आधारभूत विद्यालय नीलकण्ठ–१, महेन्द्रोदय मावि नीलकण्ठ–७, पाल्पा सामरीभञ्ज्याङ मावि, स्थानपती आवि, मनरुपी आवि र पञ्चकन्या मावि रहेका छन् ।
कक्षा ८ मा ४ जीपीए ल्याउने १२ विद्यार्थी सम्मानित
कक्षा ८ (BLE) परीक्षामा ४.० जीपीए प्राप्त गर्ने १२ जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको छ । सम्मानित हुने विद्यार्थीहरूमा नीलकण्ठ बालमन्दिरका आदर्श अधिकारी, आर्सन रिजाल, जिया अधिकारी, मनोज थापा, सम्राट श्रेष्ठ र सौरभ सिंखडा रहेका छन् ।
त्यस्तै चिल्ड्रेनपार्ककी अमिज्ञा गुरुङ, न्यू धादिङ बोर्डिङका मुहमद सरिफ मिया र दीक्षा रिजाल, सुनगाभाकी अनुजा तामाङ तथा न्यू किबोका अंकित लम्साल र जेनिक राना पनि सम्मानित भएका छन् ।
एसईईमा ४ जीपीए ल्याउने पाँच विद्यार्थीलाई जनही ५० हजार
एसईई परीक्षामा ४.० जीपीए प्राप्त गर्ने पाँच जना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा नीलकण्ठ बालमन्दिरका विपिसा सुवेदी, दिप्सन छत्कुली, प्रशंसा गुरुङ र नविना श्रेष्ठ तथा न्यू किबोकी रोजिना चौलागाईं रहेका छन् ।
३०० भन्दा बढी शिक्षक सम्मानित
नगरपालिकाले एसईईमा शतप्रतिशत नतिजा दिलाउने १११ जना तथा BLE मा शतप्रतिशत नतिजा दिलाउने १९६ जना विषयगत शिक्षकलाई समेत सम्मान गरेको छ । यससँगै कुल ३०७ जना शिक्षक सम्मानित भएका छन् ।

नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका गणित शिक्षक उत्तम भट्ट र अर्जुन सिंखडा सम्मानित भएका छन् । उनीहरूले पढाएको ऐच्छिक गणित विषयमा सहभागी १४६ जना विद्यार्थी शतप्रतिशत उत्तीर्ण भएका थिए ।
नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत प्रकाश दत्त भट्टकाले उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई प्रोत्साहन गर्दै गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्ने उद्देश्यले हरेक वर्ष यस्ता सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको जनाए । शिक्षा क्षेत्रमा देखिएको सकारात्मक प्रतिस्पर्धाले विद्यालयको नतिजा सुधार र विद्यार्थीको सिकाइ उपलब्धिमा महत्वपूर्ण योगदान पुगेको नगरपालिकाको विश्वास छ ।
