
धादिङ । विश्व वातावरण दिवसको अवसरमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) धादिङले जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।
एनप्याब्सन धादिङका अध्यक्ष प्रयास रेग्मीका अनुसार विद्यार्थीहरूमा सिर्जनशीलता, वातावरणप्रतिको सचेतना तथा कला प्रतिभाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा माध्यमिक तह र आधारभूत तह गरी दुई समूहमा प्रतिस्पर्धा गराइएको थियो । माध्यमिक तहका विद्यार्थीहरूलाई “वातावरण जोगाऔँ” शीर्षकमा चित्र बनाउन दिइएको थियो भने आधारभूत तह (कक्षा १–५) का विद्यार्थीहरूलाई “मेरो सपनाको गाउँ” शीर्षक प्रदान गरिएको थियो।
प्रतियोगितामा माध्यमिक तहबाट १४ जना तथा आधारभूत तहबाट १८ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
माध्यमिक तहतर्फ
माध्यमिक तहको व्यक्तिगत प्रतिस्पर्धामा न्यू धादिङ बोर्डिङ स्कूलकी रविना तामाङ प्रथम हुन सफल भइन् । न्यू किबो बोर्डिङ स्कूलका रुषन राज भट्टराई द्वितीय भए भने नलाङ मोडल एकेडेमीका रोनिस सिलवाल र धादिङ बोर्डिङ स्कूलका सन्देश तामाङ संयुक्त रूपमा तृतीय स्थान हासिल गर्न सफल भए ।
विद्यार्थीहरूले प्राप्त गरेको अंकका आधारमा विद्यालयगत नतिजा निर्धारण गरिएको थियो। जसअनुसार माध्यमिक तहमा न्यू किबो बोर्डिङ स्कूल प्रथम, न्यू धादिङ बोर्डिङ स्कूल द्वितीय तथा धादिङ बोर्डिङ स्कूल र नलाङ मोडल एकेडेमी संयुक्त रूपमा तृतीय भए।
आधारभूत तहतर्फ
आधारभूत तहको व्यक्तिगत प्रतिस्पर्धामा गोल्डेन फ्यूचर एकेडेमीकी इच्छा तामाङ प्रथम घोषित भइन्। न्यू किबो बोर्डिङ स्कूलकी सदिक्षा श्रेष्ठ द्वितीय भइन् भने नेचर स्माइल एकेडेमीका किरोन विक र धादिङ बोर्डिङ स्कूलकी काभिया पौडेल संयुक्त रूपमा तृतीय स्थानमा रहे।
आधारभूत तहको विद्यालयगत नतिजामा गोल्डेन फ्यूचर एकेडेमी प्रथम, न्यू धादिङ बोर्डिङ स्कूल द्वितीय तथा नेचर स्माइल एकेडेमी र न्यू किबो बोर्डिङ स्कूल संयुक्त रूपमा तृतीय भएका छन्।
अध्यक्ष रेग्मीले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा कला, सिर्जनशीलता र सामाजिक विषयप्रतिको चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले वातावरण संरक्षणको सन्देशलाई बालबालिकामार्फत समाजसम्म पुर्याउने उद्देश्यले विश्व वातावरण दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, स्वच्छ गाउँ–सहर निर्माण तथा दिगो विकाससँग सम्बन्धित विविध विषयलाई चित्रमार्फत प्रस्तुत गरेका थिए। कार्यक्रमका सहभागी तथा अभिभावकहरूले यस्ता सिर्जनात्मक गतिविधिले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
