धादिङपोष्टको १२ औँ वार्षिकोत्सव सम्पन्न, ‘धादिङ चिनारी’ स्मारिका विमोचन

Avatar photo
Dhadingpost
जेष्ठ २२, २०८३

धादिङ । विश्व वातावरण दिवसको अवसर पारेर धादिङपोष्टको १२ औँ वार्षिकोत्सव तथा ‘धादिङ चिनारी’ स्मारिका विमोचन समारोह बिहीबार भव्य रूपमा सम्पन्न भएको छ ।

धादिङपोष्टका प्रधान सम्पादक नारायण सिलवालको सभापतित्व तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षाविद्, साहित्यकार, पत्रकार, खेलकुदकर्मी, सामाजिक अभियन्ता, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि ढुङ्गानाले गमलामा पानी हालेर गरेका थिए । सो अवसरमा धादिङपोष्टद्वारा प्रकाशित ‘धादिङ चिनारी’ स्मारिकाको समेत विमोचन गरिएको थियो । स्मारिकामा धादिङको इतिहास, पहिचान, समाज, संस्कृति, शिक्षा, खेलकुद, पर्यटन तथा समसामयिक विषयवस्तु समेटिएको जनाइएको छ ।

कार्यक्रममा धादिङपोष्टका सम्पादक राजाराम रिजालले स्वागत मन्तव्य व्यक्त गर्दै धादिङको पहिचान, इतिहास र सम्भावनालाई दस्तावेजीकरण गर्ने उद्देश्यले स्मारिका प्रकाशन गरिएको बताए ।

समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी धादिङका सभापति सूर्यमणि पाठक, नेपाली कांग्रेस धादिङका सहसचिव नवराज तिमल्सिना, अनलाइन मिडिया सोसाइटी धादिङका अध्यक्ष केशव अधिकारी, नेपाल पत्रकार महासंघ धादिङका उपाध्यक्ष मनिश दुवाडी, महिला पतञ्जली योग समिति धादिङकी प्रभारी राममाया बुढाथोकी, गणित शिक्षा परिषद् धादिङका अध्यक्ष प्रयास रेग्मी, जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ तथा नीलकण्ठ बालमन्दिर माविका अध्यक्ष दीपक कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा विभिन्न क्षेत्रका संस्था तथा व्यक्तित्वलाई कदरपत्र तथा सम्मान प्रदान गरिएको थियो । शैक्षिक विकास कदरपत्रबाट प्याब्सन धादिङ, विशेष सहयोग कदरपत्रबाट एड्भान्स एकेडेमी, पत्रकारिता प्रवर्द्धन कदरपत्रबाट नेपाल पत्रकार महासंघ धादिङ शाखा, खेलकुद प्रवर्द्धन कदरपत्रबाट जिल्ला खेलकुद विकास समिति धादिङ, कृषि उद्यम तथा बजार प्रवर्द्धन कदरपत्रबाट मण्डली फ्रुट एन्ड भेजिटेबल सप्लायर्स तथा सार्वजनिक सेवा तथा यातायात विकास कदरपत्रबाट ग्रामीण यातायात धादिङ प्रालिलाई सम्मान गरिएको थियो ।

त्यसैगरी धादिङ शिक्षा सम्मान (गणित शिक्षा विशेष) बाट गणित शिक्षक सुरेन्द्र शाह, धादिङ साहित्य सम्मानबाट साहित्यकार डा. नवीनबन्धु पहाडी, धादिङ सामाजिक सेवा सम्मानबाट अन्तर्राष्ट्रिय धादिङ समाज, उदीयमान जनसेवा सम्मानबाट विजय तामाङ तथा धादिङ युवा पत्रकारिता सम्मानबाट पत्रकार बद्री अधिकारी सम्मानित भएका थिए ।

धादिङपोष्टको स्थापना कालदेखि समाचार स्रोत खोजी, सूचना संकलन तथा शैक्षिक सरोकारका विषयवस्तु उजागर गर्न पुर्‍याएको योगदानको कदर गर्दै उत्तम भट्टलाई विशेष प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तिहरूको तर्फबाट साहित्यकार डा. नवीनबन्धु पहाडीले मन्तव्य व्यक्त गर्दै धादिङको इतिहास, संस्कृति र सामाजिक जीवनलाई अभिलेखीकरण गर्ने कार्यमा धादिङपोष्टले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

समारोहमा स्मारिका प्रकाशनको मुख्य सहयोगी ग्यानोभेसन अनुसन्धान केन्द्रलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो । साथै कार्यक्रममा उपस्थित अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन ईशा थापाले गरेकी थिइन् । उनले सम्पूर्ण कार्यक्रमलाई व्यवस्थित, आकर्षक र रसमय ढंगले सञ्चालन गर्दै समारोहलाई थप प्रभावकारी बनाएकी थिइन् ।

धादिङपोष्टले विगत १२ वर्षदेखि जिल्लाका समसामयिक विषय, विकास, शिक्षा, खेलकुद, कृषि, संस्कृति तथा जनसरोकारका विषयलाई निरन्तर प्राथमिकताका साथ उठाउँदै आएको छ । वार्षिकोत्सव समारोहमा सहभागी वक्ताहरूले धादिङपोष्टले जिल्लाको पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिकाको अपेक्षा व्यक्त गरेका थिए ।