१२ वर्षको यात्रा : विश्वास, प्रतिबद्धता र जिम्मेवारी

Avatar photo
Dhadingpost
जेष्ठ २२, २०८३

विशेष सम्पादकीय

आज धादिङपोष्ट डटकमले आफ्नो १२ औँ वार्षिकोत्सव मनाउँदै गर्दा हामी विगतको यात्रालाई समीक्षा गर्दै भविष्यप्रति थप जिम्मेवार र प्रतिबद्ध बन्ने संकल्प गरिरहेका छौं । यो अवसर केवल एउटा सञ्चार माध्यमको स्थापना दिवस मात्र होइन, स्थानीय पत्रकारिता, जनविश्वास र सामाजिक उत्तरदायित्वको साझा उत्सव पनि हो ।

जनयुद्ध र जनआन्दोलनपछि स्थापित लोकतान्त्रिक तथा गणतान्त्रिक चेतनासँगै विकसित भएको सामुदायिक सञ्चार आन्दोलनलाई सशक्त बनाउने उद्देश्यका साथ ‘जहाँ इन्टरनेट, त्यहाँ धादिङपोष्ट’ भन्ने मूल नारासहित हाम्रो यात्रा सुरु भएको थियो । सीमित स्रोत–साधन, चुनौतीपूर्ण परिस्थिति र अनेक उतारचढावका बीच सुरु भएको यो अभियान आज हजारौं पाठकहरूको विश्वासको साझा मञ्च बन्न सफल भएको छ ।

धादिङपोष्टले विगत १२ वर्षदेखि जिल्लाका सामाजिक, राजनीतिक, शैक्षिक, आर्थिक, सांस्कृतिक तथा खेलकुद गतिविधिलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ । गाउँका सामान्य नागरिकदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हासिल गरेका धादिङेलीहरूको कथा, संघर्ष र उपलब्धिलाई समाचारको विषय बनाउँदै समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने प्रयास निरन्तर जारी छ ।

विशेषगरी खेलकुद क्षेत्रमा धादिङले बनाएको नयाँ पहिचानलाई स्थापित गर्न धादिङपोष्टले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । राष्ट्रपति रनिङ शिल्डदेखि राष्ट्रियस्तरका प्रतियोगिता तथा क्रिकेट र फुटबलका गतिविधिलाई नियमित रूपमा प्रकाशन तथा प्रसारण गर्दै धादिङका प्रतिभालाई अन्तर्राष्ट्रिय समुदायसम्म परिचित गराउने काम गरिएको छ । आज धादिङका धेरै खेलाडी राष्ट्रिय टोलीसम्म पुग्न सफल हुनुमा उनीहरूको मेहनतसँगै स्थानीय सञ्चार माध्यमको प्रोत्साहनात्मक भूमिकाले पनि योगदान पुर्‍याएको छ ।

पत्रकारिताको मूल धर्म सत्यको खोजी, जनचासोका विषयको उठान र जिम्मेवार खबरदारी हो भन्ने मान्यतामा धादिङपोष्ट दृढ छ । लोकतान्त्रिक मूल्य–मान्यता, नागरिक अधिकार, प्रेस स्वतन्त्रता, सामाजिक न्याय, सुशासन र मानवअधिकारको पक्षमा उभिनु हाम्रो निरन्तर दायित्व रहँदै आएको छ । शोषित, पीडित, गरिब तथा आवाजविहीन नागरिकको पक्षमा कलम चलाउने हाम्रो प्रतिबद्धता आगामी दिनमा पनि यथावत् रहनेछ ।

आजको वार्षिकोत्सवको अवसरमा विमोचन गरिने ‘धादिङ चिनारी’ स्मारिका हाम्रो अर्को महत्वपूर्ण प्रकाशन हो । धादिङको इतिहास, संस्कृति, खेलकुद, पर्यटन, समाज, शिक्षा, प्रवास तथा सम्भावनाका विविध आयामलाई समेटेर तयार गरिएको यो स्मारिका केवल प्रकाशन मात्र नभई जिल्लाको पहिचान र गौरवलाई अभिलेखीकरण गर्ने दस्तावेज पनि हो । समयसँगै हराउँदै जान सक्ने इतिहास, संस्कार, संघर्ष र उपलब्धिलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले यो प्रयास गरिएको हो ।

यसअघि ‘जनयुद्धमा धादिङ’ तथा ‘भिजिट खनियाबास’ जस्ता पुस्तक प्रकाशन गरिसकेको धादिङपोष्टले यस पटक ‘धादिङ चिनारी’ मार्फत जिल्लाको समग्र परिचयलाई एकै ठाउँमा समेट्ने प्रयास गरेको छ । यसले भविष्यका अनुसन्धानकर्ता, विद्यार्थी, लेखक तथा आम पाठकका लागि महत्वपूर्ण सन्दर्भ सामग्रीको भूमिका निर्वाह गर्ने विश्वास लिएका छौं ।

यस स्मारिका प्रकाशन अभियानलाई सफल बनाउन महत्वपूर्ण साथ र सहयोग प्रदान गर्ने ग्यानोभेशन रिसर्च सेन्टर प्रति हामी विशेष कृतज्ञता व्यक्त गर्दछौं । अनुसन्धान, ज्ञान उत्पादन र सामाजिक रूपान्तरणका क्षेत्रमा सक्रिय यस संस्थाले स्मारिका तयारीका क्रममा प्रदान गरेको सहयोग, सहकार्य र प्रेरणाले हाम्रो अभियानलाई थप बलियो बनाएको छ । धादिङको इतिहास, पहिचान र सम्भावनालाई दस्तावेजीकरण गर्ने प्रयासमा संस्थाको योगदान सदैव स्मरणीय रहनेछ ।

डिजिटल युगले सूचना र सञ्चारलाई विश्वव्यापी बनाएको छ । आज स्थानीय विषय स्थानीय सीमाभित्र मात्र सीमित छैनन् । विश्वभर फैलिएका धादिङेली समुदायसँग जिल्लाको सम्बन्ध जोड्ने महत्वपूर्ण माध्यमका रूपमा धादिङपोष्ट सक्रिय रहँदै आएको छ ।

धादिङपोष्टको यो यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, सुझाव, आलोचना र प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण पाठक, विज्ञापनदाता, लेखक, समाचार स्रोत, शुभेच्छुक तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछौं । साथै विभिन्न समयमा संस्थामा आबद्ध भई योगदान पुर्‍याउनुहुने सम्पूर्ण सहकर्मीहरूप्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं । उहाँहरूको योगदान धादिङपोष्टको इतिहासमा सदैव सम्मानपूर्वक स्मरण गरिनेछ ।

१२ वर्षको यात्राले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ—जनविश्वास नै सञ्चार माध्यमको सबैभन्दा ठूलो सम्पत्ति हो । यही विश्वासलाई केन्द्रमा राख्दै आगामी दिनमा पनि सत्य, निष्पक्ष, विश्वसनीय र जनउत्तरदायी पत्रकारितामार्फत धादिङको पहिचान, सम्भावना र जनआवाजलाई अझ सशक्त रूपमा विश्वसामु प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

१२ वर्षको यस यात्रामा साथ दिनुहुने सम्पूर्ण पाठक तथा शुभेच्छुकप्रति हार्दिक धन्यवाद।

राजाराम रिजाल
सम्पादक
धादिङपोष्ट डटकम