धादिङमा नेकपाको कार्य संयोजन समितिको बैठक आज बस्दै

Avatar photo
Dhadingpost
जेष्ठ २०, २०८३

धादिङ । पूर्व नेकपा (माओवादी केन्द्र) र पूर्व नेकपा (एकीकृत समाजवादी) लगायत दलहरूबीच एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धादिङ जिल्ला कार्य संयोजन समितिको बैठक आज बस्ने भएको छ ।

पार्टीको जिल्ला तथा स्थानीय तहसम्म पूर्ण समायोजन प्रक्रिया सम्पन्न नभइसकेको अवस्थामा संगठनात्मक गतिविधि सञ्चालन तथा समन्वयका लागि गठन गरिएको कार्य संयोजन समितिको बैठक धादिङबेसीमा बस्न लागेको नेकपा स्रोतले जनाएको छ ।

समितिमा पार्टीका जिल्ला इन्चार्ज गुरु बुर्लाकोटी र संयोजक मनराज भण्डारी रहेका छन् । समितिमा पूर्व माओवादी केन्द्र र पूर्व एकीकृत समाजवादीका गरी ५४ जना सदस्य समावेश रहेका छन् ।

बैठकमा पार्टी संगठन सुदृढीकरण, समायोजन प्रक्रियालाई तीव्रता दिने, स्थानीय तहसम्म संगठन विस्तार गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा नेकपाका केन्द्रीय तथा प्रदेश तहका नेताहरू राजेन्द्र पाण्डे, पुष्पविक्रम मल्ल, गंगालाल तुलाधरशालिकराम जम्कट्टेल लगायतको आतिथ्यता रहने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

नेकपाले पार्टी एकीकरणपछि देशभर संगठनात्मक संरचनालाई व्यवस्थित बनाउने अभियान सञ्चालन गरिरहेको छ भने धादिङमा पनि सोही अभियानअन्तर्गत कार्य संयोजन समितिको बैठकलाई महत्वका साथ हेरिएको छ ।