धादिङ–२ रास्वपामय बन्दै छ : बोदनारायण श्रेष्ठ

Avatar photo
Dhadingpost
माघ २३, २०८२

धादिङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धादिङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार बोदनारायण श्रेष्ठले धादिङ–२ रास्वपामय बन्दै गएको दाबी गरेका छन् ।

काठमाडौंमा सम्पन्न धादिङ–२ स्तरीय काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जनताको बढ्दो समर्थनले चुनावी माहोल नै परिवर्तन भएको बताए ।

“धादिङ–२ का जनता अब पुराना राजनीतिबाट दिक्क भइसकेका छन् । परिवर्तनको प्रतीक घण्टीप्रति जनविश्वास बढ्दै गएको छ, त्यसैले धादिङ–२ रास्वपामय बन्दै छ,” श्रेष्ठले भने ।

उनले जिल्लाबाहिर रहेका रास्वपा समर्थकहरूलाई सके आफ्नै क्षेत्रमा फर्केर र नसके जहाँ छन् त्यहीँबाट पार्टीको पक्षमा सक्रिय हुन आग्रह गरे ।

“चुनाव हामी जित्छौं । जनता घण्टीमा मतदान गर्न तयार छन् । अब त्यो मतको सुरक्षा सबैको जिम्मेवारी हो,” उनले जोड दिए ।

कार्यक्रममा केन्द्रीय उपसभापति डीपी अर्यालले देशभर घण्टीमय लहर चलिरहेको उल्लेख गर्दै काठमाडौंमा रहेका धादिङबासीलाई आफ्नो गृहजिल्ला केन्द्रित भएर अभियानमा लाग्न आग्रह गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको र आगामी निर्वाचनका लागि संगठित रूपमा परिचालन हुने प्रतिबद्धता व्यक्त गरिएको थियो।