अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस आज : १६ दिने अभियान सुरू, डिजिटल हिंसा रोक्न वैश्विक आह्वान

Avatar photo
Dhadingpost
मंसिर ९, २०८२

काठमाडौँ । आज २५ नोभेम्बर विश्वभर अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइँदैछ। प्रत्येक वर्ष मनाइने १६ दिने अभियान यही दिनदेखि सुरु भएर १० डिसेम्बरसम्म सञ्चालन हुन्छ। ८ मार्चको महिला दिवस र आजको दिवसबीच भिन्नता भए पनि दुबै दिवस महिलाको अधिकार, समानता र सुरक्षा मुद्दासँग जोडिएका छन्।

मिराबल दिदीबहिनीको बलिदानबाट सुरू भएको दिवस

महिला हिंसा अन्त्य दिवसको सुरु सन् १९८१ मा डोमिनिकन रिपब्लिकमा तीन अधिकारकर्मी — मिराबल दिदीबहिनी — को हत्या घटनापछिको स्मरणबाट भएको हो। तत्कालीन तानाशाह राफेल ट्रुलिजाले दिएको आदेशअनुसार उनीहरूलाई क्रूररूपमा हत्या गरिएको थियो। यही घटनाबाट प्रेरित भएर आजको दिन महिलामाथि हुने हिंसाको विरोध दिवसका रूपमा विश्वभर मनाउन थालियो।

७ फेब्रुअरी २००० मा संयुक्त राष्ट्र सङ्घले २५ नोभेम्बरलाई आधिकारिक रूपमा अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस घोषणा गरेपछि यसको अन्तर्राष्ट्रिय महत्व झनै बढ्यो। यस वर्ष यस दिवसले ४७औँ श्रृङ्खला पूरा गरेको छ।

महिलामाथि बढ्दो हिंसा : घरेलु देखी डिजिटलसम्म

विश्वका धेरै समाजहरूमा पुरुषप्रधान संरचना हाबी रहँदा महिलामाथि हुने हिंसाका रूप पनि विविध छन्—

  • शारीरिक हिंसा
  • मानसिक/भावनात्मक हिंसा
  • आर्थिक हिंसा
  • सामाजिक बहिष्कार
  • घरेलु हिंसा

नेपालमा पनि यी सबै प्रकारका हिंसाका घटना निरन्तर देखिने क्रम जारी छ। विशेषज्ञहरूका अनुसार हिंसाको अन्त्यका लागि कानुन, समाज र समुदाय सबै तहबाट संयुक्त पहल आवश्यक छ।

२०२५ को UNiTE अभियान : डिजिटल हिंसा नियन्त्रणमा विशेष फोकस

सन् २०२५ को UNiTE to End Digital Violence against Women and Girls अभियानले विश्वभर बढ्दै गएको डिजिटल हिंसाविरुद्ध आवाज उठाइरहेको छ।
नेपालमा पनि महिला तथा किशोरीहरू —

  • साइबर बुलिङ,
  • निजी फोटो/भिडियो दुरुपयोग,
  • अनौठो/धम्कीपूर्ण मेसेज,
  • सामाजिक सञ्जालमा चरित्र हत्या
    जस्ता घटनाबाट प्रभावित हुने गरेका छन ।

विशेषज्ञहरूको सुझावअनुसार—

  • सरकारले डिजिटल हिंसा रोक्ने कडा कानुन बनाउनु आवश्यक छ,
  • सामाजिक सञ्जाल तथा प्रविधि कम्पनीहरूले सुरक्षा मापदण्ड मजबुत बनाउनुपर्छ,
  • दातृ निकाय तथा संगठनहरूले महिला अधिकार अभियानलाई स्रोत र सहयोग उपलब्ध गराउनुपर्छ,
  • सर्वसाधारणले पीडितको आवाजलाई साथ दिनुपर्छ।

हिंसा अन्त्यका लागि समाज, परिवार र राज्यको समन्वय आवश्यक

हिंसामुक्त समाज निर्माण सबैको जिम्मेवारी हो। परिवार, विद्यालय, समुदाय र राज्यको भूमिकाले मात्र महिलामाथि हुने हिंसाको अन्त्य सम्भव हुन्छ।
आजको दिनले सबैलाई सम्झाउँछ—
“महिलामाथि हुने सबै प्रकारका हिंसाविरुद्ध एकजुट भएर अघि बढौँ।”