क्रान्तिकारी पत्रकार शक्ति लम्सालको निधन : नेपाली पत्रकारिता र सांस्कृतिक आन्दोलनमा ठूलो क्षति

Avatar photo
Dhadingpost
कार्तिक २५, २०८२

काठमाडौं । क्रान्तिकारी पत्रकार शक्ति लम्सालको ७९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ। उनी शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा निधन भएका हुन्।

लम्साल प्रेस सेन्टर नेपालको मार्गदर्शक तथा आदर्श नेतृत्वमध्ये एक मानिन्थे। २०५४ सालमा जनपक्षीय पत्रकार सङ्घको नेतृत्वमा प्रेरणा स्वरूप स्थापित प्रेस सेन्टर नेपालमा उनको योगदान महत्वपूर्ण रहेको छ।

उनको पार्थिव शरीरमा एमाअवादी पार्टी कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा एमाअवादी र वैद्य माअवादीहरूले संयुक्त रूपमा श्रद्धाञ्जली अर्पण गरेका छन्।

शक्ति लम्सालले २०५२ सालमा अखिल नेपाल जनसाँस्कृतिक संघको अध्यक्ष भएर नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनको नेतृत्व गरेका थिए। यस क्रममा विभिन्न समयमा जेल जीवन व्यतीत गर्नुपर्ने बाध्यता पनि उनी सामना गरेका थिए।

उनले २०१८ सालमा मोहनविक्रम सिंहसँगै तौलिहवामा १८ महिना जेल जीवन बिताएका थिए भने २०२२ सालमा नवलपरासीको किसान विद्रोहमा सहभागी भएकाले भैरहवा जेलमा परेका थिए। यसअघि पनि उनी २०४५, २०४६, २०५२, २०५३ र २०५५ सालमा पटक-पटक गिरफ्तार भई जेल जीवन बिताइसकेका थिए।

उनको निधनले नेपाली प्रगतिशील पत्रकारिता र सांस्कृतिक आन्दोलनमा एउटा शून्यता सिर्जना गरेको छ।