
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा शिक्षासँग सम्बन्धित कर्मचारीहरूलाई राजनीतिक गतिविधिमा संलग्न नहुन चेतावनी दिएका छन्।
मन्त्री पुनले कार्तिक २३ गते सूचनामार्फत विभिन्न माध्यमहरू — इमेल, टेलिफोन, WhatsApp लगायत सामाजिक सञ्जालमार्फत प्राप्त गुनासाहरूको आधारमा शिक्षा क्षेत्रका केही संघ–संगठनहरूले राजनीतिक गतिविधिमा संलग्न भएको देखिएकाले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
सूचनामा भनिएको छ —
“सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारीले पेशागत आचरण र नीति–नियमको पालना गर्नुपर्ने हुन्छ। ती पेशागत ऐनहरूले राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन, त्यसैले राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको छ।”
मन्त्री पुनले दलका भ्रातृ तथा शुभेच्छुक संगठनका रूपमा रहेको शिक्षक, प्राध्यापक र कर्मचारीका संघ–संगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको समेत स्पष्ट पारेका छन्।
सूचनामा शिक्षक–कर्मचारीको संवैधानिक हक र अधिकारको सम्मान गर्दै, हालका संघ–संगठनहरूलाई गैरराजनीतिक, स्वतन्त्र र पेशागत स्वरूपमा पुनर्गठन गर्न निर्देशन दिइएको उल्लेख छ।
त्यस्तै, मन्त्रालयले शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज तथा सरोकारवालाहरूलाई समेत आफ्नो आचरण, नीतिगत प्रतिबद्धता र शिक्षाको गुणस्तर सुधारमा ध्यान दिन आह्वान गरेको छ।

