
धादिङ । “धादिङ सेवा समाज कतार को मूल मर्म,समाजसेवा नै हो मानवीय प्रमुख धर्म”भन्ने मूल नाराका साथ स्थापित धादिङ सेवा समाज कतारद्वारा धादिङ जिल्ला खनिवास गाउँपालिका वडा नम्बर ५ निवासी क्यान्सर राेगबाट पिडित हरि बहादुर तामाङलाई १ लाख २ हजार १०१ रुपैयाँ सहयाेग प्राप्त भएकाे छ ।
Gastrointestinal Stromal Tumor जस्तो प्राणाघातक रोग लागेर हाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा उपचारत हरि बहादुर तामाङकाे
आर्थिक स्थिति अत्यन्तै कमजोर भएको हुनाले अहिंसावादी युवा क्लब धादिङको अनुरोधमा धादिङ सेवा समाज कतार, नेपाल प्रवासी तामाङ समाज कतार र शेर्पा सङ्घ कतारको पहलमा संकलित उक्त रकम पिडितका छाेरालाई हस्तान्तरण गरिएकाे धादिङ सेवा समाज कतारका सचिव अम्बर बहादुर गुरुङले धादिङपाेष्टलाई बताए ।
रकम हस्तान्तरण कार्यक्रममा धादिङ सेवा समाज कतारका निवर्तमान सह-संयोजक रोम राना मगर, तामाङ समाज नेपालका अध्यक्ष कमल योञ्जन तामाङ, उपाध्यक्ष अशोक सिङ्तान तामाङ, छिमेकी मार्टको अध्यक्ष नर घिसिङ्ग तामाङ, शेर्पा संघ कतारका सल्लाहकार धिण्डु शेर्पका साथै अहिंसावादी युवा क्लब धादिङका सचिव रंजित तामाङ लगायतको उपस्थिती रहेकाे थियाे ।