४० करोड पुरस्कार रहेको पब्जी विश्वकप खेल्न नेपाली टिम मलेशियामा

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २६, २०८१

धादिङ । विश्वभरका ४८ टिमले सहभागिता जनाउने पब्जी विश्वकप खेल्न नेपाली टिम मलेशियामा पुगेको छ । विश्वकप विजेताले करिव नेपाली ४० करोड रुपैयाँ जित्ने छ । विभिन्न छनोट चरण पार गर्दै विश्वकपमा स्थान बनाएका ४८ टिम मध्य नेपालबाट दुई टिम डीआरएस गेमिङ र होर्रा स्पोर्टस रहेका छन् ।

यस प्रतियोगितामा ४८ टिमलाई ३ वटा समूह बनाउँदै १६ टिममा विभाजन गरिएको छ । समूह चरणमा प्रत्येकले २४ वटा खेल खेल्नेछन् भने शीर्ष ३ टिम फाइनलका लागि प्रवेश गर्नेछन् । अंक तालिकाको चौथोदेखि ११ औँ नम्बरमा रहेका टिम सर्भाइबल स्टेज’ मा पुग्नेछन्। बाँकी रहेका टिम भने समूह चरणबाट नै बाहिरिने छन् ।

सर्भाइबल स्टेजमा रहेका २४ टिम फेरि ३ समूह गरि ८ टिममा विभाजन हुनेछन् । यो स्टेजबाट १६ टोली अर्को चरणमा पुग्नेछन् भने अंक तालिकाको अन्तिममा रहेको ८ टिम प्रतियोगिताबाट बाहिरिने छन् । अन्तिम चरणमा १६ टिम पुग्ने छन् । फाइनलमा १८ खेल हुनेछन् जसले पब्जी विश्व विजेता निर्धारण गर्नेछ । तीन चरणको खेल मलेसियामा हुने भएता फाइनल खेल बेलायतको लन्डनमा हुनेछ ।

नेपाली टिम डीआरएसको यो पाँचौं पटकको विश्वकपयात्रा हो । २०२२ मा डीआरएस उपविजेता हुँदै कुल ३ करोड ८६ लाख नेपाली रुपैयाँ पुरस्कार जितेको थियो । डीआरएसले पब्जीबाट अहिले सम्म १० करोड नेपाली रुपैयाँ भन्दा माथिको पुरस्कार जिति सकेको छ ।