धादिङका अनु र रविना आवद्ध संकटाको खेल आज

Avatar photo
Dhadingpost
बुधबार, भदौ १९, २०८१

धादिङ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी एन्फा महिला लिग फुटबलमा आज धादिङ थाक्रे महदेवबेसीकी अनु भुसाल र नीलकण्ठ धुवाँकोटकी रविना गुरुङ आवद्ध संकटा एफसीको पहिलो खेल आज हुने छ ।

आज बुधबार ३ बजे संकटा एफसी र त्रिभुवन आर्मी क्लब बीच एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । संकटाले केहि दिन अघि मात्रै आफ्नो टिममा धादिङका अनु र रबिनालाई अनुबन्धन गरेको थियो ।

प्रतियोगितामा कोशी, सुदूरपश्चिम, चन्द्रपुर नगरपालिका, एपिएफ, त्रिभुवन आर्मी, संकटा, नेपाल पुलिस, बागमती, कर्णाली र वालिङ नगरपालिका गरी १० टिम सहभागी छन् ।

सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको पहिलो चरणमा ४५ खेल हुने छन् । सिङ्गल राउन्ड रोबिनमा शीर्ष पाँच स्थनमा रहने टोलीबिच पुनः डबल राउन्ड रोबिनका आधारमा सुपर लिग खेलाइने छ । सुपर लिगमा २० खेल हुने छन् । सुपर लिगमा उत्कृष्ट चार टोलीबिच क्वालिफायर, इलिमिनेटर र फाइनल भएपछि महिला लिग विजेताको छिनोफानो हुने छ ।

लिगको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख तथा उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले १-१ लाख पाउनेछन्। उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउनेछन्।