नेपालमा सालकको वासस्थान
नेपालमा सालक समुद्र सतहबाट करिब २,५०० मिटरसम्मको उचाइमा साल, सल्लो तथा मिश्रित पतझड वनमा पाइन्छ भने कमिला र धमिरा सहज र प्रशस्त पाइने घमाइलो खुल्ला घाँसे मैदान, किसानको खेतवारी र नजिकको जमिनमा पनि पाइन्छ । स्वभावले लजालु र सम्वेदनशील भए तापनि मानिसको नजिक वरिपरि खेतवारीमा बस्न यो रुचाउँछ । सालकको मुख्य वासस्थान पूर्वी तथा मध्य नेपालका चुरे पहाड तथा उत्तरी साल वन र त्यसको आसपासका वन क्षेत्र हुन् । नेपालमा सालक कति छन् भनेर यकिन संख्या चाहीं छैन, एकाध बाहेक बिस्तृत गणना पनि भएको छैन । संरक्षित क्षेत्रसँगै सामुदायिक वनमा सालक बढी मात्रामा पाइन्छ।
सालक संरक्षण कार्ययोजना (२०१८ – २०२२) का अनुसार नेपालका ४३ जिल्लामा सालक पाइन्छ । जस अनुसार कालो सालक २५, तामे सालक ७ वटा र दुवै वा कम्तिमा कुनै एक प्रजाति १४ वटा जिल्लामा पाइने भनेर उल्लेख गरिएको छ । तर सालकविज्ञ डा. तुलसी लक्ष्मी सुवालका अनुसार देशका ६१ जिल्लामा रेकर्ड गरिएको छ ।
धादिङमा सालकको अवस्था
सालकको बारेमा धादिङमा विस्तृत अध्ययन भएको छैन । वन तथा वातावरण मन्त्रालयको आयोजनामा WWF Nepal को सहयोगमा सालकको राष्ट्रिय सर्वेक्षण (२०१६) हुँदा धादिङमा नीलकण्ठ नगरपालिका सहित तत्कालिन विभिन्न ताल्कालिन ११ गाविसको वनहरूमा सालक रेकर्ड गरिएको थियो । प्रकृति लागि ह्वाइटली कोषको (Whitley Fund For Nature) सहयोगमा साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउण्डेशन ( SMCRF) ले तीन वटा सामुदायिक वनमा वृक्षारोपण र ५०० भन्दा बढी घरमा सालक र वन डढेलो बारेमा सचेतना अभियान सञ्चालन गरिएको छ । साथै समुदायहरूको क्षमता अभिवृद्धि गर्न तालिम र वैकल्पिक जीविकोपार्जन सहयोग पुयाउने कार्यक्रमहरू, वन डढेलोबाट सालकलाई पर्ने प्रभाव मूल्याङ्कन गर्न स्थानीय समुदायहरूको सहभागितामा अनुसन्धान पनि हुँदैछ । क्याम्पस तहको केहि अध्ययन हुँदैछ र आगामी दिनमा नयाँ कुरा पत्ता लाग्दै जानेछ । धादिङमा कालो र तामे दुबै प्रकारका सालक पाइन्छ भनेर दावी गरिए तापनि हालसम्म तामे सालकको उद्धार वा मुद्दाको घटना देखिएका छैन । यहाँ हालसम्म सबै कालो सालक सम्बन्धी उद्धार र मुद्दाको घटना देखिन्छ ।
।
धादिङमा सालक उद्धारको तथ्याङ्क हेर्दा गोरखाको सिमाना बुढीगण्डकी सल्यानटारदेखि धादिङबेसी (निलकण्ठ नगरपालिका आसपासको क्षेत्र) र काठमाडौंसंग जोडिएको भाग धुनिबेसी नगरपालिका नौबिसे खण्ड, केवलपुर, थान्सिङ्ग बेसीसम्म पाइएको छ । पहिला निकै संख्यामा देखिने सालक पछिल्लो समय बासस्थानको विनाश र चोरी शिकारीको कारणले निकै घटेको तथ्यहरू, यहाँका बुढापाका र सामुदायिक वनका उपभोक्तासंगको छलफलले देखाएको छ ।
यो सामाग्री डिभिजन कार्यालयले प्रकाश गरेको विष्णु प्रसाद आचार्यको हाम्रो सालक प्यारो सालक पुस्तकबाट साभार गरिएको हो ।