
धादिङ । तलब भत्ता, जनताको सेवामा लगाउने प्रतिवद्धता सहित धादिङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर (क) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेसका धादिङका युवा नेता मदुकुमार श्रेष्ठ बागमती प्रदेशको मन्त्री भएका छन् ।
प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोबिन्द प्रसाद पौडेलका अनुसार कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मा प्रकाश श्रेष्ठ (एमाले), वन तथा वातावरण मन्त्रालयको जिम्मा किशोर सिलवाल (एमाले), स्वास्थ्य मन्त्रालयको जिम्मा किरण थापा (एमाले) लाई दिइएको छ । यसैगरी, भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मा अमन मास्के (एमाले), उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मा शुकमाया तामाङ (एमाले) र श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मा प्रेमभक्त महर्जन (एमाले) दिइएको छ ।
यस्तै, कांग्रेसबाट मन्त्री बनेका कुन्दन राज काफ्ले, श्याम खड्का र मदुकुमार श्रेष्ठलाई विना विभागीय जिम्मेवारी तोकिएको प्रवक्ता पौडेलले बताए । १३ वटा मन्त्रालयको रहेको बागमतीमा अन्य तीन मन्त्रीको नाम भने टुंग्याउन बाँकी छ । एमालेको भागमा ६ र कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा मन्त्रालय भागमा परेको थियो ।
नेपाली फिल्म क्षेत्रबाट आफ्नो परिचित बनाएका धादिङका मदुकुमार श्रेष्ठलाई ०७९ को निर्वाचनमा नेपाली कांग्रेस धादिङले क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यका उठाएको थियो । उनी नेकपा एमालेका उम्मेदवार रमेश आचार्यले भन्दा १२ सय ९४ बढी मत ल्याइ विजयी भएका थिए । श्रेष्ठले १७ हजार आठ सय ३२ मत प्राप्त गरेका थिए भने एमालेका आचार्यले १६ हजार पाँच सय ३८ मत पाएका थिए ।