
धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङको अध्यक्षको जिम्मेवारी दुई कार्यकाल सफलताका साथ पुरा गरेका प्रतापसिंह तामाङलाई तेश्रो कार्यकालका लागि बागमती प्रदेशले धादिङको अध्यक्षमा पुन: नियुक्त गरेको छ । यस अघि ३ वर्षको कार्यकाल हुने गरेकोमा प्रदेश खेलकुद विकास नियमावली, २०७६ को दोस्रो संशोधन गरेर कार्यकाल ४ वर्ष पुर्याइएको हुँदा प्रताप जिल्ला अध्यक्षमा अब ४ वर्ष रहने छन् ।
विगत साढे ३ महिनादेखि १३ जिल्लाका जिल्ला खेलकुद विकास समिति अध्यक्ष खाली छन् तर बागमती प्रदेशले अहिले मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक गरी ६ वटामा अध्यक्ष नियुक्त गरेको हो । बाँकी जिल्लाका अध्यक्षहरु अर्को सरकार बनेपछि नियुक्त हुने बताईएको छ ।
खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा राज मोक्तान, धादिङको अध्यक्षमा प्रताप तामाङ, काभ्रेको अध्यक्षमा मानवीर वाइवा, सिन्धुलीको अध्यक्षमा विरबहादुर थिङ, काठमाडौंको अध्यक्षमा सानुभाई बलामी र सिन्धुपाल्चोकको अध्यक्षमा रामकृष्ण दंगाललाई नियुक्त भएका हुन् ।