गणतन्त्रमा जनताको आशा भित्र निरासा हाबी

Avatar photo
Dhadingpost
सोमवार, असार ४, २०८१

हामीले केही दिन अघि मात्र गणतन्त्र दिवस मनायौं । गणतन्त्रको गुणगान पनि मजैले गायौं । तर जुन तरिकाले गणतन्त्रको तारिफ र उल्लासको एउटा भ्रम छर्‍यौ त्यो सायद जनतालाई लगभग अपाच्य छ । साँच्चै भन्ने हो भने जनताले शासकिय स्वः अभिभावकत्वको झण्डा गाडेको गौरबशाली व्यवस्था हो गणतन्त्र । जुन व्यवस्थामा हामी रमाईरहेका छौँ अहिले ।

गणतन्त्रको कुरा गर्दा सबैभन्दा पहिला प्राचीन ग्रीक दार्शनिक एरिस्टोटलको भनाई मनन गरौ गणतान्त्रिकहरु लोकतन्त्र तर्फ खस्छन् र लोकतान्त्रिकहरु निरंकुशता तर्फ खस्छन, उनको यो भनाई र हाम्रो शासकीय प्रणाली बिल्कुल उल्टो देखिन्छ। हामीले क्रमशः निरंकुशता भोग्यौँ, प्रजातन्त्र हुँदै लोकतन्त्र चाख्यौँ अहिले गणतन्त्र चाख्दै छौँ । गणतन्त्रले जनतालाई सर्वशक्तिमान बनाउँछ, त्यसो त गणतन्त्रलाई सर्वशक्तिमान बनाउने पनि जनताले नै हो ।

गणतन्त्र नै हो जनतालाई वाक स्वतन्त्रता प्रदान गर्ने जुन हामीले पाईरहेका छौं । गणतन्त्र नै हो जनतालाई समान हैसियतले हेर्ने अनि जन चासोलाई स्विकार्दै अघि बढ्ने । गणतन्त्रमा नै हो जनताबाट निर्वाचित एक समुहले शासन चलाउने र जनताको हितको लागि काम गर्ने । यहि भावलाई आत्मसात गर्दै एकात्मक राज्य सत्ताबाट बहुल पार्टिमा प्रबेस गर्दै जन निर्वाचित प्रतिनिधिहरुको सेवा हामीले पाईरहेका छौं । जिल्ला र अञ्चलको साटो संघीय प्रदेश र स्थानीय साशन हामीले अनुभुत गरिरहेका छौं । विकासको गति केही बढाइएको छ, बजेटको आकार बिस्तृत गरिएको छ। सिधा रुपमा भन्नू पर्दा केन्द्रिय राज्य सत्ताको निरिक्षणमा स्थानीय र प्रदेश सरकारहरुबाट प्रत्यक क्षत्रको गतिबिधिलाई चलाएमान बनाईएको छ । जसलाई सकारात्मक फड्को मान्नै पर्छ ।

यी केही सकारात्मक कदमलाई सम्झिरहँदा के हामीले गणतन्त्रको साचो मूल्य र मान्यतालाई सम्मान गरेका छौँ त ? के गणतन्त्रले हामीलाई सर्वशक्तिमान बनायो त ? के हामीले गणतन्त्रलाई सर्वशक्तिमान बनाउन पायौं त । यी प्रश्नहरु अहिले पेचिलो बन्दै गएको छ। १६ वर्ष भयो मुलुक गणतन्त्रमा प्रबेस गरेको । २०६५ जेठ १५ संबैधानिक रुपमै मुलुक गणतन्त्रमा प्रवेश गर्यो । जसलाई जनताका प्रतिनिधिले जनताकै अभिमतमा शासन गर्ने उच्चतम लोकतान्त्रिक प्रणालीको रुपमा लिगियो ।
तर पछिल्लो समय गणतन्त्रलाई जनताको बलिदानी भनिए पनि यसको आवश्यकता, उपलब्धी औचित्य माथिनै फरक बिचार र धारणा आईरहेका छन् ।

आखिर किन गणतन्त्र भुल वा जरुरीको बहस चलिरहेको छ ? कारण हो, नेपाली जनताले सुशासन विकास समृद्धि र स्थायित्वको अपेक्षा जुन गतिमा गरेका थिए त्यो पूरा हुन सकेन राजनितिक उतारचढाव र नागरिकको जिवनस्तरमा तालमेल नमिल्दा र आर्थिक सामाजिक र सास्कृतिक पुनर्संरचनाका सवालमा दलहरुको प्राथमिकता र प्रतिबद्धता शून्य प्राय देखिएर नै होला गणतन्त्रमा पेचिलो बनेको वा दलहरुले केवल गणतन्त्र ल्याउनुलाई मात्र उपलब्धी मानेर होला।
यो बीचमा गणतन्त्र ब्यवस्थापनको लागि केहि सार्थक प्रयासहरु पनि नभएका होईनन । संविधान निर्माण , संघीयता कार्यन्वयन , तुलनात्मक रुपमा प्रगतिशिल समानुपातिक प्रतिनिधित्वका सिद्धान्त केहि मात्रामा भए पनि कार्यान्वयन, प्रदेश र स्थानीय सरकारको अभ्यास आरम्भ, राज्यका निकायहरुमा समानुपातिक आधार तयार आदि गणतन्त्रकै आधारसिला टेकेर गरिएका केहि परिवर्तनका पहल कदमीहरु हुन । त्यसो त यहि व्यवस्थामा जनताले हिजोको भन्दा केहि बढि राजनितिक भूमिका पाएका छन् । शासन र राजनितिक प्रणालिमा परिवर्तन आएका छन् ।

तर बिडम्बना पिधमा रहेका जनताको जिवनस्तरमा कुनै तात्विक सुधार आउन सकेको छैन । उनिहरुलाई गरिखान अझै सकस छ । नगरिक सँग सिधा जोडिएको सवालमा दलहरु उदासिन छन् । हो गणतन्त्रले हामीलाई रैतीबाट नागरिक बनाए पनि गणतन्त्रको भावना अनुरुपको परिवर्तन भने हुन सकेन । समानताको नजरले हेर्न सकिएन । महिला, दलित, पिछडिएका जमात माथिको हिंसामा कुनै कमि आएन । अपराध र अपराध जन्य गतिबिधिमा कुनै कमि आउन सकेन । घुस खोरी र भ्रष्टाचारका ठुला ठुला काण्ड यहि खण्डमा मौलाए । यी सबै कुरालाई मुल्यांकन गर्दा गणतन्त्र केही ब्यक्तिका लागि मात्र आए जस्तो देखिन्छ।

आमूल सामाजिक रुपान्तरण गर्न सक्नु पर्ने गणतन्त्रले आखिर किन त्यो प्रक्रियामै जान सकेन ? लोकतान्त्रिक गणतन्त्र भनेको शासन प्रणाली र सामाजिक दायित्वमा परिवर्तन मात्र होईन मुख्य त नागरिकको जीवन पद्धतिमा अमुल परिवर्तन आउनु हो । तर हाम्रो राज्य संचालक र राजनितिले गणतन्त्रलाई शासन पद्दती मात्र बनाए । गणतन्त्रको आडमा राजतन्त्रको ठाँट उस्तै छ आज पनि । जसले गर्दा गणतन्त्रको प्रतिस्ठा र गरिमामा गम्भीर प्रश्न उठिरहेको छ। सामन्त र अधिनायकवादि राजतन्त्र अन्त्य गरि गणतन्त्रमा प्रबेस गरेको नेपालले सोहि ठाटको अपेक्षा बिल्कुल गरेको थिएन । गणतान्त्रिक शासन सस्कार, शैलीमा आमूल परिवर्तन जनताको अपेक्षा थियो । तर आज एउटा राजाबाट सयौं राज, एउटा दरबारबाट सयौं दरबार थपिए।

यी राजाहरुले जनताको आसा र अपेक्षालाई सम्बोधन गरेका भए सायद प्रश्न उठ्ने थिएनन् तर बिडम्बना त्यो हुनै सकेन । जनताको सपनालाई भजाएर जुन तरिकाले ब्यक्तिगत गुट र पार्टिको सपना साकर पार्नतर्फ लागे त्यो नै गणतन्त्रको कुरुप रुप बन्न पुग्यो । लोकतान्त्रिक गणतन्त्रलाई यिनिहरुले कमाउ तन्त्र बनाए । आफ्ना पुस्तौं पुस्ताको आर्थिक हैसियत सुरक्षित पारे। तर शासन शैली र सस्कारमा पुरानै शैली अपनाए ।

जनताले भोट हालेर पठाएको भुलेर सलामी र सम्मानको आसमा आफुलाई लिप्त बनाए। शासक नै कानुन मिच्ने, भ्रस्टाचारमा ऐक्यबद्धता देखाउने, अपराध र अपराधिलाई संरक्षण गर्ने स्तरसम्म पुगे। राष्ट्रिय सवालमा केवल जस लिने मात्र होडबाजी चलाए । आखिर जनताले चाहेको यस्तै गणतन्त्र हो त ? राष्ट्रिपतिमा गणतान्त्रिक र सरकारमा लोकतान्त्रिक पारदर्शी सस्कार किन विकास हुन सकेन हाम्रो गणतन्त्रमा ? आर्थिक विकास, सामाजिक रुपान्तरण, शुशासन र विकासका दृस्टिले हेर्दा गणतान्त्रिक कालखण्ड पनि पुर्ण रुपमा निरासाले भरिएकै देखियो । संविधानको अक्षर र जनताको भावना राज्य संचालकले महसुस गर्नै सकेनन १ अझ भनौं त्यता सोच्ने फुर्सद नै पाएनन् । यदि कुनै पनि व्यवस्थामा जनताको चाहनाको सम्बोधनको कुनै अनुभूति दिलाउन पाईएन भने राजनिती परिवर्तन, ब्यवस्था परिवर्तन र कागजी संविधानको के अर्थ? साचो अर्थमा भन्ने हो भने अहिले संविधान र राजनितिक प्रणालीले भन्दा पनि प्रत्यक पटकको सरकारहरुको निरंकुशता उन्मुख र भ्रष्टाचारी प्रवृत्तिका कारण लोकतान्त्रिक गणतन्त्र र संविधानको भविष्य नै संकटमा पुगेको छ।

१५ जेठलाई राजनितिक परिवर्तनको युगान्तकारी दिन त भनियो , जनताले जितेको दिन पनि भनियो । लामो संघर्ष र ०६२–०६३ को जन आन्दोलनको उपलब्धी पनि भनियो तर त्यो परिवर्तनले हामीले सोचेको र कल्पना गरेको त्यो उपलब्धिले साच्चै न्याय पायो त ? २००७ पछिका पटक पटकका राजनितिक परिवर्तन , ३६ साल, ४६ साल १० वर्षे माओवादी विद्रोह, अनि ६२–६३ को जन आन्दोलन जस्ता ऐतिहासिक आन्दोलनहरुको एकमुष्ट उपलब्धिको रुपमा मुलुकमा गणतन्त्र आए पनि त्यो फिक्का प्राय छ । गणतन्त्रको साँचो गुन्जायस महसुस गर्न पाईएकै छैन । हो नेता गणतान्त्रिक नबनी शासन व्यवस्ता गणतान्त्रिक बन्न सक्दैन भन्ने उपदेश अब हामीले सिक्नै पर्ने भएको छ । लगातारको कमजोरी र त्रुटीले हिजोको शासन ब्यवस्था जस्तै गणतन्त्रलाई नै खाईदियो भने यसको जिम्मेवारी कस्ले लिने ? के हाम्रा राजनितिक नेतृत्व यसका लागि तयार छन् ? १२ वर्षमा खोला पनि फर्कन्छ भन्छन तर हामी कहाँ यो १५–१६ वर्षको अवधिमा शाशन ब्यवस्थाको नाम परिवर्तन त गर्यो तर जनता र देशको भाग्य परिवर्तन गर्न सकेन । बरु स्वतन्त्रता, सुशासन, स्थायित्व, शान्ती र अमनचयनको नाममा अपराध भ्रष्टाचार जन्य गतिबिधिहरु अरु मौलायो ।

सत्ता खिचातानि र स्वार्थ केन्द्रीत उथलपुथलले मुलुकको समृद्धि अरु पछाडी धकेल्यो। अन्तराष्ट्रिय जगतमा देशको छवि गिराउने हर्कत भए । तर पनि प्रत्यक गणतन्त्र दिवसको अवसरमा सरकार प्रमुख देखि प्रतिपक्षीसम्म सबैले उस्तै र एकैस्वरमा शुभकामना दिन्छन र भन्छन्, आफ्नै कारण मुलुकमा गणतन्त्र आएको र उल्लेख्य उपलब्धी हात लाग्यो । झुटको कुनै सिमा हुन्थ्यो भने सायद यिनिहरुले गलत भाषण दिने कुचेस्टा गर्ने थिएनन् होला । तर लाज पचाउन सिपालु पात्रहरुको हालिमुहालिमा यो सबै जायज । यतिका वर्ष सम्म पनि किन गणतन्त्रले जनताको जिवनस्तर उकास्न सकेन ? किन आज पनि गणतन्त्र ठिक भयो वा भएन भन्ने प्रश्न उठ्छ ? भन्ने तर्फ कुनै राजनितिक बृत र पत्रहरुले चासो र चिन्तन लिन सकेनन । किन झुटको मकुन्डो ओढेर विश्व सामु नेपालको छवि बलियो भदै गएको दाबी गर्दै विकासको बाटो स्वतन्त्र ढंगले चयन गर्ने रास्ट्रको सार्वभौम अभ्यासले नयाँ उचाई लिगेको बताउन पछि पर्दैनन्कि ? न गणतन्त्र माथी प्रश्न उठाउनेहरु प्रतिगामी भन्न पछि पर्दैन ? आखिर तिनिहरु स्वयम् गणतन्त्रको प्रतिगामी हो भन्ने कसले बुझ्ने ?

नेताहरुको आ आफ्नै तर्क र बहस सुन्दा लाग्छ गणतन्त्रलाई यिनिहरुले आफ्नै पेवा बनाए । हुनत यिनिहरुलाइ गणतन्त्र मजाले फापेको पनि छ । जनता त यो भन्दा पहिलेको तन्त्रमा पनि जनतानै थिए , आज पनि जनता नै छन् । शासकबाट अपहेलित र ठगिनु बाहेक बाकी जनतासंग के नै रह्यो र ?

अन्तमा अब्राहम लिन्कनका एक भनाई हेरौं, ूमलाइ दास बन्न अस्विकार्य छ, मलाई दास बन्न अस्विकार्य भएकैले मलाई कसैको मालिक बन्न पनि अस्वीकार्य छ, यी दुई वाक्याले लोकतन्त्र बारे मेरो धारणा बताउछन् । उनको यो भनाई कति मन योग्य छ । गणतन्त्र पछि हामी कसैको रैती वा दास त रहेनौ तर के हामीले मालिक बन्न पनि अस्विकार गरेका छौं त ? यदि छैन भने जहाँ मालिक हुन्छ त्यहाँ दास कसरी हुदैन ? हामी चाहन्छौ दास वा मालिक बनेर होईन सबैको समानता र सबैको सम्मानका साथ हामी नेपाली भएको महसुस गर्न पाउँ। निरंकुशता मिश्रित गणतन्त्र स्वयम् प्रदुषित बनिरहेको छ। जसको जिम्मेवार हामी स्वयम् नै हौं । अब पनि हामी गैर जिम्मेवार बनिरहने ? गणतन्त्रमा जनताको आशा भित्र निरासा हाबी गराई रहने हो ?, अब पुग्यो, गणतन्त्रको भित्र फोहोरी खेल । अब आफुलाई सुधारौं, गलत अभ्यासको प्रयास्चित गरौं, ताकी असली गणतन्त्रले राहतको महसुस गर्न सकोस अनि जनताले भन्न सकुन गणतन्त्र साच्चै गणतन्त्र नै रहेछ, जहाँ हामीले खोजेका, चाहेको र देशले प्रतीक्षा गरेको परिवर्तनको अनुभुत गर्न पाऔं ।