पत्रकार महासंघ धादिङको अध्यक्षका आकाँक्षीहरु

Avatar photo
नारायण सिलवाल
शुक्रबार, बैशाख २८, २०८१

धादिङ । नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला तिनै तहको निर्वाचन २०८१ जेठ २६ हुने भए सँगै पत्रकारहरुको चुनावी भेटघाट सुरु हुन थालेका छन् । धादिङमा अध्यक्षका आकांक्षीहरु पनि चुनावी गतिविधिमा देखिन थालेका छन् । तथापी संगठनहरुको चुनावी तालमेल र पत्रकार सदस्यता नविकरण नटुङ्गिएका कारण खुल्न भने सकिरहेका छैनन् ।

जिल्ला शाखालाई थप सुदृढ बनाउनका लागि जिल्लाका पत्रकार साथीहरुले सर्वसम्मत प्रस्ताव गरे, मतदान नहुने अवस्थामा आफु अध्यक्षको आकांक्षी रहेको दुई कार्यकाल अध्यक्ष बनिसकेका नवराज छत्कुली बताउँछन् । कान्तिपुर टिभिका उप-सम्पादक पोषनाथ अधिकारी यो पटक जिल्लाका साथीहरुले मलाई पत्रकार महासंघको अध्यक्षमा अस्वीकार गर्नुहुन्छ भन्ने नलागेको हामीलाई बताए ।

धादिङका पुराना पत्रकारहरु मध्यका सिताराम अधिकारी पनि पत्रकार महासंघ धादिङको आशन्न निर्वाचनमा अध्यक्षका आकांक्षी हुन् । उनले प्रेस चौतारीको प्रस्ताव र अन्य संगठनको समर्थन जुटाउने तयारीमा लागेको बताए । नेपाल टेलिभिजनमा धादिङबाट लामो समय देखि काम गर्दै आएका शिव सिलवालले पनि विगतका वर्षहरुमा जस्तो आफू ब्याक नहुने र यो पटक अध्यक्ष बन्ने बताउँछन् । सहयोगका लागि पत्रकार साथीहरु सँग छलफल चलाएको उनले बताए ।

धादिङका पुराना पत्रकार मध्यका अर्का केशव अधिकारीले पनि यो पटक अध्यक्षको आकांक्षी रहेको बताएका छन् । यसअघि अरुलाई बनाईयो । अब आफुलाई बनाउनुस भनेर जाँदै छु, उनले भने ।