एसीसी मेन्स प्रिमियर कपमा आज नेपालले मलेसियाविरुद्ध खेल्दै

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र ३०, २०८०

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको साविक विजेता नेपालले आज शुक्रबार मलेसियाविरुद्ध ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा दिउँसो ४ः१५ बजे खेल्दै छ ।

अघिल्लो पटक घरेलु मैदानमा भएको प्रतियोगिताको फाइनलमा युएईलाई पराजित गर्दै नेपालले एसिया कप खेलेको थियो । ओडीआई फरम्याटको एसिया कपमा नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्ने मौका पायो । यो पटक भने प्रिमियर कप टी-ट्वेन्टी फर्म्याटमा हुँदैछ ।

नेपालले मलेसियाविरुद्ध निकै बलियो इतिहास बोकेको छ । हालसम्म ९ टि२० खेलमा नेपालले ८ जित दर्ता गर्दा मलेसिया एकपटक विजयी भएको छ । पछिल्लो ५ खेलमा नेपालले नै जित हासिल गरेको छ । अक्टोबर २०२३ मा भएको पछिल्लो भेटमा नेपालले मलेसियालाई टि२० विश्वकप छनोट अन्तर्गत खेलमा ६ विकेटले हराएको थियो ।

समूह-एमा नेपाल र मेलसियासँग हङकङ, कतार र साउदी अरेबिया छन् । समूह-बीमा युएई, ओमान , कुवेत, बहराइन र कम्बोडिया छन् । उपाधि जित्ने टिम सन् २०२५ को एसिया कपका लागि छनौट हुनेछ । हङकङ र कतार पनि आजै आमनेसामने हुनेछन् ।