धादिङमा राष्ट्रपति रनिङ शिल्ड सुरु

Avatar photo
Dhadingpost
आइतवार, माघ १४, २०८०

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेदकुद प्रतियोगिता आजबाट धादिङबेसीमा सुरु भएको छ । प्रतियोगिता माघ १६ गते सम्म चल्ने छ ।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गरेकी थिईन । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले बागमती प्रदेश खेलकुदमा संघीय सरकार भन्दा अगाडी रहेको दावी गरेकी छिन् । बागमती प्रदेश सरकारले प्रयाप्त वजेट खेलकुदमा खर्च गर्न नसकेता पनि अन्य प्रदेश र संघीय ससरकारले भन्दा बढी खेलकुदलमा चासो देखाएको उनले दावी गरिन् । हरेक वडामा खेलमैदान, हरेक पालिकामा रंगशाला र हरेक जिल्लामा अन्तराष्ट्रिय मापदण्डमा रंगशाला बागमती प्रदेशले बनाउने उनले बताईन् । कार्यक्रममा धादिङको खेलकुद भवनलाई पूर्णता दिने र खेलकुदका जग्गा संरक्षण र खेलकुद मैत्री बनाउन प्रदेश सरकारले सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरिन् ।

जिल्ला खेलकुद समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा धादिङका प्रदेश सांसद गोविन्द लम्साल, मायाँदेवि शर्मा, माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी, पालिका अध्यक्षहरु, सरकारी क ार्यालयका प्रमुखहरुको आथित्यता रहेको थियो । प्रतियोगितामा जिल्लाका १३ वटै पालिकाबाट छनोट भएर आएका करिव ९५० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

आज पहिलो दिन भएको खेल अपडेट
छात्र भलिबलमा गंगाजमुनाले ज्वालामुखीलाई, नेत्रावती डवजोङले धुनीबेसीलाई, गल्छीले गजुरीलाई पराजित गरेको छ । यस्तै छात्रा तर्फ ज्वालामुखीले धुनीबेसीलाई र बेनीघाट रोराङले थाक्रेलाई पराजित गरेको छ । हार्ने टिम आउट भएका छन् ।