नीलकण्ठ माविका शिक्षक रामचन्द्र क्रिकेट सिकाउँदै

Avatar photo
Dhadingpost
बुधबार, माघ १०, २०८०

धादिङ । नीलकण्ठ माध्यामिक विद्यालयका शिक्षक रामचन्द्र श्रेष्ठ मंगलबार कक्षा ८ मा अध्ययनरत २३० जना विद्यार्थी लिएर धादिङबेसी स्थित खुल्लामञ्च खेल मैदान पुगे । आधारभूत ज्ञानका लागि क्रिकेट सामाग्री सहित पुगेका उनले क्रिकेटको बारेमा विद्यार्थीहरुलाई सिकाएका थिए ।

विद्यालयमा क्रिकेट सिकाउन नेट र पीच छैन । त्यसैले ठुलो ठाउँ खुल्ला मञ्च लगेर विद्यार्थीहरुलाई क्रिकेट खेलबारे सिकाएको उनले धादिङपोष्टलाई बताए । ब्याटिङ, बलिङ, फिल्डिङ र विकेट किपिङ अर्थात् अलराउन्ड स्किल पर्याप्त अभ्यास चाहिन्छ । अभ्यासले नै बच्चाहरूको क्षमता अभिवृद्धि हुन्छ र उनीहरू प्रोफेसनल क्रिकेटर बन्ने बाटोमा अघि बढ्छन् । त्यसैले स्कुले जीवनदेखि नै क्रिकेट सिक्नु राम्रो हुन्छ । यो सबै थाहा हुँदा हुँदै र सिकाउने र विद्यार्थीको सिक्ने चाहना हुँदा हुँदै पनि खेल सामाग्री, नेट नहुँदा अभ्यास गराउन नसकिएको उनी बताउँछन् ।

हरेक माध्यामिक विद्यालय र क्याम्पसहरुमा क्रिकेट नेट राख्न सकियो भने विद्यालय क्रिकेटले फड्को मार्न धेरै समय लाग्दैन क्रिकेट सिक्न विद्यार्थी उत्साहित छन् तर विद्यालयमा क्रिकेट नेट समेत छैन । यस तर्फ तीनै तहको सरकारको ध्यान नगएको शिक्षक रामचन्द्र बताउँछन् ।