धादिङमा सत्ता गठबन्धनको बैठक, राष्ट्रिय सभाको चुनाव केन्द्रित तीन निर्णय

Avatar photo
नारायण सिलवाल
मङ्लबार, माघ २, २०८०

धादिङ । सत्ता गठबन्धनमा रहेका धादिङका तीन दल (नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी) को बैठकले राष्ट्रिय सभा निर्वाचन केन्द्रित तीन निर्णयहरु गरेका छन् । बैठकले कांग्रेस धादिङ सभापति रामनाथ अधिकारी, माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी र एकीकृत समाजवादी धादिङका इन्चार्ज गुरुप्रसाद बुर्लाकोटी रहेको तीन सदस्यीय राष्ट्रिय सभा निर्वाचन धादिङ जिल्ला समन्वय समिति २०८० गठन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले माघ ९ गते धादिङबेसीमा कार्यक्रम गरी मतदाताहरुलाई अभिमुखीकरण गराउने, बागमती प्रदेशका गठबन्धनबाट राष्ट्रिय सभामा उम्मेदवार बनेका उम्मेदवारहरु र धादिङका मतदाताहरुलाई भेटघाट गराउने निर्णय गरेको छ ।राष्ट्रिय सभाको रिक्त पदमा आगामी माघ ११ गते निर्वाचन हुँदै छ । रिक्त हुने २० मध्ये १९ सिटका लागि हुने उक्त पदका लागि ५२ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले गठबन्धन गरेका छन् । अन्य दल एक्ला–एक्लै प्रतिस्पर्धामा छन् ।

एमालेबाट धादिङका ध्रुव विश्वकर्मा उम्मेदवार
नेकपा एमालेले राष्ट्रियसभा सदस्यको उम्मेदवारमा धादिङका ध्रुव विश्वकर्मालाई उठाएको छ । एमालेले उनलाई दलितकोटाबाट उम्मेदवार उठाएको हो ।
धादिङका ध्रुव विश्वकर्माको राजनीतिक यात्रा
धादिङबाट एमालेको उम्मेदवारको सूचीमा परेका ध्रुव विश्वकर्माले ०४८ सालमा पार्टी सदस्यता लिई राजनीतिक यात्रा सुरु गरेका थिए । अनेरास्ववियु, उजाउ धादिङको सदस्यको जिम्मेवारी पुरा गरेका उनी एमालेको उपयोग नीति अनुसार ०४३ सालमा बेनीघाट गाउँपञ्चायतको उम्मेद्वार समेत बनेका थिए । एमाले धादिङको १३ नम्बर इलाका कमिटी सदस्य हुँदै राजनीतिलाई थप तिखारिएका उनी एमालेको ७ औ र ८ औं महाधिबेशन पछि बनेको पार्टी कमिटीको निर्णयबाट एमालेको सहकारी विभागमा समेत रहेर काम गरेका थिए । २०६४ सालमा जिल्ला कमिटी सदस्य बनेका उनी हाल एमाले बागमती प्रदेश कमिटी सदस्य रहेका छन् ।

बागमतीमा चार सिटका लागि १६ जना प्रतिस्पर्धामा
बागमतीमा चार सिटका लागि १६ जनाको उम्मेदवारी परेको छ । सत्तागठबन्धका तर्फबाट महिलामा कांग्रेसकी विष्णुकुमारी पुडासैनी र अन्यमा जितजंग बस्नेत, अपांगता/अल्पसंख्यकमा माओवादीका श्रीकृष्ण अधिकारी र दलितमा एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गराए । एमालेबाट महिलामा रोचकुमारी चौलागाईं, अन्यमा त्रिलोचन निर्मल पौडेल, अपांगता/अल्पसंख्यकमा विवेक देवकोटा र दलितमा ध्रुवराज विश्वकर्माको उम्मेदवारी परेको छ । त्यस्तै, राप्रपाबाट अन्यमा हेमजंग गुरुङ, महिलामा नानु नगरकोटी, अपांगता/अल्पसंख्यकमा भरतमणि भट्ट र दलितमा पूर्णबहादुर विश्वकर्मा तथा नेमकिपाबाट महिलामा कृष्णलक्ष्मी दुवाल, अपांगता/अल्पसंख्यकमा हिमालयश्वर मुल, अन्यमा श्रीकृष्ण महर्जन र दलितमा संगीता नेपालीले उम्मेदवारी दिएका छन् ।