भीआईपीको लावालस्कर, पीडितको आकाशमुनि बास

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक २३, २०८०

काठमाडौं । सर्वसाधारणको मतले जितेका राष्ट्रपति र प्रधानमन्त्रीलाई बिपत्तिमा परेर गाँस–बासविहीन भएका तिनै सर्वसाधारणबाट केको सुरक्षा चुनौती हुन्छ ? ठूला दैवी विपत्तिमा सहानुभूति दिन र मनोबल बढाउन राज्य र सरकार प्रमुख पुग्नु राम्रो निर्णय हो। तर, तिनैको स्याहार–चकार र सवारी व्यवस्थापनमा राज्य संयन्त्र अलमलिनुचाहिँ देख्नेकै लागि लाजको विषय हो।

जाजरकोट र रुकुमपश्चिममा अहिले त्यस्तै भइरहेको छ। भूकम्पपीडितलाई साथ सहयोग गर्ने नाममा राज्यको खर्चमा गएका मन्त्रीदेखि सुरक्षाकर्मीसम्मलाई राष्ट्रपति र प्रधानमन्त्रीको पछि लाग्न भ्याइनभ्याइ छ। राहतको आसमा बसेका पीडित हेलिकप्टरमा राहत होइन, राष्ट्रपति र प्रधानमन्त्री आएको देख्दा ठूलो आशा गर्छन्। तर, तिनले अनुहार देखाउने र सरकारी संयन्त्रलाई अलमल्याउनेबाहेक केही नगर्दा जिल्ल पर्ने गरेका छन्।

भूकम्पबाट प्रभावित क्षेत्रमा हिजोआज दिनहुँ हेलिकप्टर उडिरहेका छन्। झट्ट हेर्दा पीडितका लागि राहत ओसार्न उडेका हुन् जस्तो लाग्नसक्छ। तर, जाजरकोट र रुकुमपश्चिमको आकाशमा उड्ने ती अधिकांश हेलिकप्टरहरू भूकम्पपीडितका लागि राहत ओसार्न उडिरहेका होइनन्/छैनन्। ती त भूकम्प प्रभावित क्षेत्रमा आउने भीआईपीहरूलाई भ्रमण गराउन उडेका हुन्। प्रभावित क्षेत्रमा हिजोआज राहत सामग्री ओसार्नेभन्दा हेलिकप्टरलाई भीआईपीहरू बोक्न र डुलाउन भ्याइनभ्याइ छ।

भूकम्पले घरबारविहीन बनेका पीडितहरू खुला स्थानमा रात बिताउन बाध्य छन्। खाद्यान्नको अभावमा छाक टार्न मुस्किल छ। पीडितहरू गाँस र बासको अभावमा छटपटाइरहेका छन्। यस्तो अवस्थामा पीडितलाई समयमै राहत सामग्री उपलब्ध गराउनुको साटो हेलिकप्टरहरू जिल्लामा आउने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद् र राजनीतिक दलका नेताहरू ओसार्नमै अलमलिएका हुन्। यसले प्रभावित क्षेत्रमा पीडितहरूलाई राहत सामग्री उपलब्ध गराउन र भत्किएका घरहरूको उत्खननमा सकस भइरहेको छ। अर्कोतर्फ प्रभावित क्षेत्रमा अवलोकन र निरीक्षणको नाममाभीआईपीहरूको हेलिकप्टर सयरले राज्यको स्रोत र साधनको पनि दोहन भइरहेको छ।

भूकम्पबाट सबैभन्दा बढी क्षति बेहोरेको जाजरकोटका दुर्गम बस्तीमा सडक पुगेको छैन। जहाँ हेलिकप्टरबाट मात्र राहत सामग्री लैजानुपर्ने बाध्यता छ। तर, भूकम्पपछि उद्धार र राहतमा प्रयोग गर्ने भनिएका सेनाका हेलिकप्टरले राहत सामग्री बोक्न पाएका छैनन्।

तामझाम गरेर भएको राष्ट्रपतिको सवारीले न पीडितले राहत पाए, न त व्यवस्थापनको कुनै ठोस योजना बन्यो। बरु राष्ट्रपतिको यो भ्रमणका कारण पीडितले सास्ती भोगे। राहत र व्यवस्थापनमा खट्नुपर्ने कर्मचारी तथा सुरक्षाकर्मीको पनि समय खेर गयो।
जिल्लामा आउने भीआईपीलाई प्रभावित क्षेत्रमा घुमाउने काममा प्रयोग हुँदा दुर्गम क्षेत्रमा न राहत पुगेको छ, न त भत्किएका घर उत्खननका लागि सुरक्षाकर्मी नै। उत्खननका लागि तत्काल दक्ष जनशक्ति र सुरक्षाकर्मीहरू परिचालन हुनुपर्ने हो। पीडितका लागि राहत सामग्री पुग्नुपर्ने हो। तर, दिनहुँ जिल्लामा अवलोकनका लागि आउने भीआईपीका कारण राहत, उत्खनन र व्यवस्थापनका कामहरू प्रभावित बनेका छन्।

जिल्लामा विपद् व्यवस्थापनको नेतृत्व जिल्ला प्रशासन कार्यालय र त्यहाँका कर्मचारीले गर्नुपर्ने हुन्छ। तर, जाजरकोट र रुकुममा भने ठीक उल्टो भइरहेको छ। अर्थात् जिल्लामा लस्कर लागेर आउने भीआईपीको स्वागत र सत्कारमा नै खट्नुपर्ने बाध्यताले आफूहरूलाई विपद् व्यवस्थापनमा सकस भइरहेको कर्मचारीहरू बताउँछन्। विपद् व्यवस्थापनमा खटिएका एक कर्मचारीले भने, ‘बिहान उज्यालो हुन नपाउँदै भीआईपीहरू आउन थाल्छन्, उनीहरूको स्वागत र सत्कारमै खट्नुपर्छ। भीआईपीको पछि लाग्दा पीडितहरूको व्यवस्थापनमा काम गर्न पाएका छैनौं, सुरक्षाकर्मीको नेतृत्व पनि राहत र व्यवस्थापनमा भन्दा भीआईपीकै पछाडि लाग्न बाध्य भएका छन्।’ प्रभावित क्षेत्रमा अवलोकन र निरीक्षणको नाममाभीआईपीहरूको हेलिकप्टर सयरले राज्यको स्रोत र साधनको पनि दोहन भइरहेको छ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रकाश पन्त पनि राहत र व्यवस्थापनमा भन्दा भीआईपीको स्वागत कसरी मिलाउने भन्ने तनावमा छन्। यी जिल्लाका प्रहरी नेतृत्व मात्र होइन, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डीआईजी भीम ढकाल आफंै भीआईपीको सुरक्षामा खटिन बाध्य छन्। राहत र उद्धारमा खट्नुपर्ने नेपाली सेना र सशस्त्र प्रहरीको जनशक्ति पनि भीआईपीको सुरक्षा गर्न लागिपरेका छन्। एक प्रहरी अधिकारीले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू आउँदा सुरक्षाको व्यवस्था मिलाउनुपर्ने हुन्छ, उनीहरूको अघिपछि लाग्नुपर्ने र सुरक्षामा खटिनुपर्ने भएकाले सुरक्षाकर्मीलाई प्रभावित क्षेत्रमा उत्खननलगायतका काममा खटाउन
सकिएको छैन।’

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले विपद् व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको स्वीकार गरे। उनले भने, ‘विपद् व्यवस्थापनमा सकस भइरहेको छ, सडक नपुगेका प्रभावित क्षेत्रमा राहत सामग्री लैजान सकिएको छैन। राहत र व्यवस्थापनमा जनशक्ति अभाव भएको छ, हामी केही जनशक्तिले मात्र रातदिन खटिएर सम्भव छैन।’ उनले भीआईपीका कारण समस्या भएको स्वीकार नगरे पनि विपद् व्यवस्थापनमा भने जनशक्तिको अभाव भएको बताए।

भूकम्पका कारण घरबारविहीन बनेपछि पीडितहरू टेन्टमा बसेका थिए। जाजरकोट सदरमुकाम खलंगास्थित त्रिभुवन माविको प्रांगणमा राखिएका टेन्टहरू मंगलबार बिहान एकाएक हटाइयो। राष्ट्रपतिको सवारी हुने भन्दै आफूहरूको ओत लाग्ने टेन्ट सुरक्षाकर्मीले एकाबिहानै हटाएपछि पीडितहरू आक्रोशित बने।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत गर्न भन्दै पीडितका त्रिपाल हटाइएको थियो। राष्ट्रपति सवार हेलिकप्टर अवतरण गर्ने स्थान नभएपछि पीडितहरूका त्रिपाल नै हटाइएको थियो। पीडितका त्रिपाल हटाएर राष्ट्रपतिको धुमधाम स्वागत गरिए पनि पीडितले भने आश्वासनबाहेक केही पाएनन्।

nullभूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि सेनाको हेलिकप्टरमार्फत कात्तिक २१ गते जाजरकोट पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको सुरक्षाका लागि लठ्ठी समाएर उनी हिँड्ने बाटो छेकेर उभिएका सुरक्षाकर्मी।

यतिमात्र होइन राष्ट्रपतिले मंगलबार रुकुमपश्चिम र जाजरकोटका प्रभावित क्षेत्रमा हेलिकप्टरबाट पनि अवलोकन गरे। केही स्थानमा स्थलगत अवलोकन पनि गरे। उनको पछाडि स्वागतमा कर्मचारी र सुरक्षाकर्मीको लावालस्कर नै लाग्यो। तर, तामझाम गरेर भएको राष्ट्रपतिको सवारीले न पीडितले राहत पाए, न त व्यवस्थापनको कुनै ठोस योजना बन्यो। बरु राष्ट्रपतिको यो भ्रमणका कारण पीडितले सास्ती भोगे। राहत र व्यवस्थापनमा खट्नुपर्ने कर्मचारी तथा सुरक्षाकर्मीको पनि समय खेर गयो। राष्ट्रपति फिर्ता भएपछि पीडितहरूले हेलिकप्टर बसाल्न हटाइएका त्रिपालहरू पुनः टाँगे।

राष्ट्रपतिको भ्रमण मात्र होइन, भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा आउने मन्त्री, सांसद र नेताहरूले आफूहरूलाई गिज्याउने काम गरिरहेको पीडितको गुनासो छ। राहत र व्यवस्थापनमा ध्यान दिनुको साटो भीआईपीहरूले हेलिकप्टरमा घुमेर आफूहरूको पीडामा अरू पीडा थप्ने काम गरिरहेको पीडितको दुखेसो छ।

रुकुमपश्चिमको आठबिस नगरपालिका–११ रिठ्ठामा भूकम्पमा बाबुआमा दुबै गुमाएकी जैकुमारी मल्लले भनिन्, ‘हामी छानो नभएर खुला स्थानमा बसेका छौं, मन्त्री र नेताहरू हाम्रो टाउकोमाथि हेलिकप्टरमा उडिरहेका छन्। आजसम्म गाउँमा न त्रिपाल आएको छ, न त राहत। मन्त्री र नेताहरू हाम्रो दुःखलाई हेलिकप्टरबाट हेरेर गिज्याउने काम गरिरहेका छन्।’ उनले नेता र मन्त्रीहरू आफूहरूकै अगाडिबाट धुलो उडाएर कुद्ने गरेको भन्दै हालसम्म गाउँमा राहत नआएको गुनासो गरिन्। अन्नपूर्णपोष्टबाट