काठमाडौं । दाता फकाएर वा बाध्य पारेर विदेश भ्रमणमा जान्छन् कर्मचारी : १ वैशाख ०७९ देखि १ जेठ ०८० सम्म वन मन्त्रालय र अन्तर्गतका विभाग–कार्यालयबाट १५९ कर्मचारीले गरे विदेश भ्रमण । कनिष्टलाई पठाए हुने कार्यक्रममा पनि भत्ता र घुमघामको लोभमा जान्छन् उच्च अधिकारीहरू ।
वैदेशिक भ्रमणको स्पष्ट नीति तथा मापदण्ड नभएको अवस्थामा वन तथा वातावरण मन्त्रालयका उच्च तहका कर्मचारी आफूखुसी स्वयंलाई मनोनयन गरेर विदेश भ्रमण गर्ने गरेका छन् । कर्मचारीको असीमित वैदेशिक भ्रमणले नियमित कामकारबाही नै प्रभावित हुन थालेका छन् ।
दाता फकाएर वा बाध्य पारेर वन मन्त्रालयका कर्मचारी विदेश भ्रमणमा जाने गरेका छन् । मन्त्रालयले वन र जलवायु परिवर्तनसम्बन्धी वैदेशिक सहायताका दर्जनौँ परियोजना सञ्चालन गर्दै आएको छ । र, कर्मचारीहरूले तिनै आयोजनालाई ‘बाध्य’ पारेर भ्रमण गर्ने गरेको मन्त्रालयकै स्रोत बताउँछ । सरकारले सरकारी खर्चमा विदेश भ्रमण रोकेको छ ।
कर्मचारीको भ्रमण तालिका हेर्ने हो भने बिल्कुलै अस्वाभाविक देखिन्छ । उदाहरणका लागि वर्षमै एकजनाले ६ पटकसम्म विदेश भ्रमण गरेको भेटिएको छ भने दुई महिना त विदेशमै बितेको छ । सूचनाको हकको निवेदनमार्फत नयाँ पत्रिकालाई प्राप्त विवरणअनुसार १ वैशाख ०७९ देखि १ जेठ ०८० सम्मको अवधिमा वन मन्त्रालय र अन्तर्गतका विभाग तथा कार्यालयबाट एक सय ५९ कर्मचारीले विदेश भ्रमण गरेका छन् । वैदेशिक भ्रमणका दुई सय ५९ वटा अवसरमा लाभान्वित हुने धेरै कर्मचारी मन्त्रालयकै छन् । पूर्वकार्यवाहक महालेखापरीक्षक सुकदेव खत्री भट्टराई वैदेशिक सहायताको आयोजनामा दाताहरूले ‘एकमुस्ट’मै बजेट राखेर कर्मचारीको विदेश भ्रमण गराउने गरेको बताउँछन् । विश्व बैंक, एडिबीलगायत दाताका सबैजसो आयोजनाका सबै सम्झौतामा यस्तो हुने उनी बताउँछन् ।
सम्झौताको प्याकेजभित्रैबाट भ्रमण गराइने भएकाले सरकारले विकासे मन्त्रालय र निकायको अनावश्यक भ्रमण रोक्न नसकेको उनको भनाइ छ । आयोजना सम्झौतामा बजेट राखेर गराइने यस्तो भ्रमण गलत भएको उनको भनाइ छ । तर, वन मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्ले कर्मचारीको वैदेशिक भ्रमण जायज भएको तर्क गर्छन् । गत वर्ष कोभिड– १९ का कारण रोकिएका अन्तर्राष्ट्रिय सम्मेलन र कार्यक्रम धेरै भएका कारण बढी भ्रमण देखिएको उनको भनाइ छ । धेरै भ्रमण दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाकै स्रोतबाट भएका छन् । यस्तो भ्रमणमा सरकारलाई दायित्व सिर्जना नगरिएको उनको दाबी छ । ‘अनावश्यक भ्रमण भएका छैनन्, भएकामा जानुपर्ने व्यक्ति नै गएको छ,’ उनको दाबी छ ।
भ्रमणले नियमित काम नै प्रभावित
कतिपय कर्मचारी त केही दिनकै फरकमा र महिनैपिच्छेसम्म भ्रमणमा गएको देखिएको छ । विज्ञता नभएका र कार्यक्षेत्रबाहिर गएरसमेत कर्मचारीहरू आफूलाई छनोट÷निर्णय गराएर विदेश भ्रमण जाने गरेका छन् । कार्यबोझ बढी भएका तहका कर्मचारीहरू विदेश भ्रमणमा प्रतिस्पर्धा गर्दा यसले कार्यालयको कामसमेत प्रभावित हुने गरेको छ । वैदेशिक भ्रमणमा जाँदा गर्ने भिसा प्रक्रिया, तयारीलगायत समेतलाई समय लाग्ने हुँदा भ्रमणको स्वीकृत बिदाबाहेक कार्यालयको नियमित कामसमेत प्रभावित हुने गरेको छ । टाढाको देशमा हुने भ्रमणका लागि त आतेजातेको समयसमेतले बिदा बढाउँछ । युरोप, अमेरिकामा दुई दिनको भ्रमणले त आतेजाते दुई–दुई दिन गरेर भ्रमणबाहेकको चार दिन प्रभावित हुन्छ ।
वर्षमै ६ पटक विदेश भ्रमण जाने यी सहसचिव
वर्षमा झन्डै दुई महिना विदेशमै, स्विट्जरल्यान्डमा तीनपटक
मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख रहेका सहसचिव मेघनाथ काफ्ले एक वर्षमै ६ पटक विदेश भ्रमणमा गएका छन् । ती भ्रमणमा सहभागी भएर ५४ दिन त उनले विदेशमै बिताएको देखिन्छ । तीनपटक त उनी स्विट्जरल्यान्ड पुगेका छन् । यसबाहेक उनी आइभोरीकोस्ट, क्यानडा र थाइल्यान्ड गएका छन् ।
कोप– १५ का सदस्यराष्ट्रहरूको क्षेत्रीय बैठक तथा सम्मेलनमा भाग लिन ०७९ वैशाख २४–६ जेठ (१४ दिन) उनी आइभोरीकोस्ट गएका थिए । यसपछि मंसिरदेखि पुसबाहेकको हरेक महिना लगातार उनी विदेश भ्रमणमा रहे । त्यसपछि कोप– १५ सम्मेलनको दोस्रो भागलगायतमा सहभागी भएर उनी ०७९ मंसिर १७–४ पुस (१७ दिन) क्यानडा बसे ।
बसेल रोटरडम र स्टकहोम सम्मेलनको बैठकका लागि अध्यक्ष र वार्ताकारका रूपमा सहभागी भएर उनी पुनः स्विट्जरल्यान्डमा ०७९ माघ २३–२७ (पाँच दिन) बसे । त्यसको दुई साता नबित्दै पुनः खतरनाक फोहोरको सीमापार ओसारपसार नियन्त्रण र व्यवस्थापनसम्बन्धी बसेल महासन्धिको खुला कार्यसमूहको १३औँ बैठकमा भाग लिन स्विट्जरल्यान्ड पुगे । त्यहाँ फागुन ९–११ गरेर (तीन दिन) रहे । त्यसलगत्तै कोपको तयारी बैठकमा भाग लिन ३० फागुन–२ चैत (तीन दिन) थाइल्यान्ड पुगे । यसपछि तेस्रोपटक ०८० वैशाख १८–२९ का लागि बसेल, रोटरडम र स्टकहोम सम्मेलनका लागि सदस्यराष्ट्रहरूको सम्मेलन बैठकमा सहभागी हुन स्विट्जरल्यान्ड पुगे । त्यहाँ उनी १२ दिन बसे ।
महिनैपिच्छे विदेश भ्रमण, वर्षमा ६ देश घुमे
त्यस्तै, वन मन्त्रालयअन्तर्गतकै रेड कार्यान्वयन केन्द्रका प्रमुख डा. रामचन्द्र कँडेलले एक वर्षमै ६ देशको चक्कर मारेका छन् । भ्रमणबापत उनले २७ दिन विदेशमै गुजारेका छन् । उनले साउनदेखि लगातार पाँच महिनामा हरेक महिना विदेश भ्रमण गरेको देखिन्छ । बाघ पाइने देशहरूको पूर्वशिखर बैठकमा भाग लिन ०७९ साउन २५–२७ गतेसम्म (तीन दिन) नयाँदिल्लीमा रहेका उनी लगत्तै अर्को महिना भदौ २०–२३ (चार दिन) का लागि रुस पुगे, दोस्रो अन्तर्राष्ट्रिय बाघ मञ्चमा भाग लिन । त्यसको एक महिना नबित्दै अन्तर्राष्ट्रिय संरक्षण प्रमुखहरूको एकेडेमी (आइसिसिए)मा भाग लिन असोज १७–२७ गतेसम्म (११ दिन) अमेरिका पुगे । लगत्तै विश्वव्यापी हिउँचितुवा र पर्यावरण संरक्षणसम्बन्धी कार्यक्रमको सञ्चालन समितिको बैठक (जिएसएलइपी)मा भाग लिन कात्तिक २०–२१ गतेसम्म (दुई दिन) किर्जिकिस्तान गए । त्यसको एक महिना नबित्दै मंसिर १२–१५ (चार दिन)का लागि इटाली पुगे, संयुक्त राष्ट्रसंघ–रेड कार्यकारी बोर्ड बैठकमा भाग लिन । यसपछि माघ २९–२ फागुन (तीन दिन) थाइल्यान्डमा रेडमा एसिया प्यासिफिक एफसिपिसी क्षमता अभिवृद्धि कार्यक्रमका लागि क्षेत्रीय कार्यशालामा भाग लिएर फर्के ।
वर्षमा पाँचपटक विदेश भ्रमण गर्ने यी कर्मचारी
मन्त्रालय र रेड कार्यान्वयन केन्द्रका चार कर्मचारीले वर्षमा पाँचपटकसम्म विदेश भ्रमण गरेका छन् । पाँचपटक विदेश जानेमा मन्त्रालयका सहसचिवद्वय शिवकुमार वाग्ले र डा. महेश्वर ढकाल तथा उपसचिवद्वय शंकर अधिकारी र शिव खनाल छन् । अधिकारी रेड कार्यान्वयन केन्द्रका हुन् भने वाग्ले, ढकाल र खनाल मन्त्रालयमा कार्यरत छन् ।
मन्त्रालयका योजना, अनुगमन तथा समन्वय महाशाखाका प्रमुख सहसचिव वाग्ले वर्षमा चार देशमा गरेर ४० दिन विदेशमा रहेको देखिन्छ । जर्मनीमा भएको वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकायको ५६औँ सत्रमा ०७९ जेठ १७–२ असार (१७ दिन) सहभागी भए । त्यसको दुई महिनापछि भदौ ७–९ (तीन दिन) उनी थाइल्यान्डमा भएको सहज संक्रमण रणनीतिहरू तयार गर्न दक्षिण–दक्षिण विनिमय बैठकमा भाग लिन पुगे ।
यसपछि प्रत्यक्ष लगानी मञ्च र खाद्य तथा कृषि संगठनका अधिकारीहरूसँग साइडलाइन बैठकमा सहभागी हुन ०७९ असोज ३१–४ कात्तिक (पाँच दिन)का लागि स्विट्जरल्यान्ड पुगे । यसपछि चैत ८–१० (तीन दिन) उनी वनका लागि संयुक्त राष्ट्रसंघ रणनीतिक योजनाको विश्वव्यापी वन लक्ष्य र त्यसको प्रगतिबारे राष्ट्रिय जानकारीको विश्वव्यापी कार्यशालामा सहभागी हुन इटाली गए । लगत्तै गत वैशाख १८–२९ (१२ दिन) स्विट्जरल्यान्डमा बसेल, रोट्टरडम र स्टकहोम सम्मेलनका लागि सदस्यराष्ट्रहरूको सम्मेलन बैठकमा सहभागी भएर फर्के ।
मन्त्रालयअन्तर्गतकै तर हाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालले पाँच देश भ्रमण गरेका छन् । विभिन्न कार्यक्रममा सहभागी भएर उनी २३ दिन विदेश बसे । दोस्रो अन्तर्राष्ट्रिय बाघ मञ्चमा सहभागी हुन उनी ०७९ भदौ १९–२१ (तीन दिन)का लागि रुस गएका थिए । यसपछि विश्वव्यापी हिउँचितुवा र पर्यावरण संरक्षणसम्बन्धी कार्यक्रमको सञ्चालन समितिको बैठक (जिएसएलइपी)मा भाग लिन किर्जिकिस्तान पुगेका उनी कात्तिक ३–५ (तीन दिन) पछि स्वदेश फर्किए । त्यसको ११ दिनपछि दक्षिण एसिया वन्यजन्तु प्रवद्र्धन सञ्जालको साधारणसभामा भाग लिन कात्तिक १६–१७ (दुई दिन) माल्दिभ्स गएको देखिन्छ । फेरि त्यसको ११ दिनपछि कात्तिक २८–९ मंसिर (१२ दिन)मा सदस्यहरूको सम्मेलनको १९औँ बैठकमा सहभागी भएर पानामा पुगेर फर्के । बाघ परियोजनाको २५ वर्षे स्मरणमा सहभागी हुन उनी गत चैत २६–२८ (तीन दिन) भारत पनि पुगेर फर्के ।
मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका उपसचिव शिव खनाल पनि धेरै विदेश भ्रमण गर्नेमा पर्छन् । एक वर्षमा उनले पाँच देश भ्रमण गरेका छन् । भ्रमणहरूमा सहभागी हुँदा उनी ३४ दिन विदेशमै रहे । रेड प्लस कन्ट्री लिनिङ प्रोग्राममा भाग लिन ०७९ जेठ २९–५ असार (आठ दिन) कम्बोडिया पुगेर फर्केका उनी त्यसको तीन दिनपछि कोस्टारिका पुगे, कोस्टारिकासँग रेड प्लस क्रियाकलापमा प्राविधिक सहायता कार्यक्रममा सहभागी हुन । त्यहाँ उनी असार ८–१५ (आठ दिन) बसे । यसपछि कात्तिक २०–२ मंसिर (१३ दिन)मा इजिप्ट पुगे, जलवायु परिवर्तनमा संयुक्त राष्ट्रसंघ फ्रेमवर्क कन्भेन्सनमा भाग लिन । उनी फागुन २४–२६ (तीन दिन) सिंगापुर र गत वैशाख १४–१५ (दुई दिन) जर्मनी पनि पुगे, विभिन्न कार्यक्रममा सहभागी हुन ।
रेड कार्यान्वयन केन्द्रका उपसचिव शंकर अधिकारीको पनि धेरै वैदेशिक भ्रमण देखिन्छ । उनी वर्षमा ६ देशको भ्रमण गर्न सफल भएका छन् । विभिन्न कार्यक्रममा विदेश रहँदा ४३ दिन विदेशमै बसे । ०७९ वैशाख १९–२३ (पाँच दिन) दक्षिण कोरियामा एक्स भी वल्र्ड फरेस्ट्री कंग्रेसमा सहभागी भएर फर्केका उनी दुई महिनापछि असार २८–३ साउन (१२ दिन) कम्बोडिया पुगे, रेड प्लस क्रस कन्ट्री लिनिङ प्रोग्राममा भाग लिन । यसपछि कात्तिक २०–२ मंसिर (१३ दिन) इजिप्टमा जलवायु परिवर्तनमा संयुक्त राष्ट्रसंघ फ्रेमवर्क कन्भेन्सनमा भाग लिन गए । त्यसको १० दिनपछि मंसिर १२–१५ (चार दिन)मा युनाइटेड नेसन्स–रेड कन्ट्री डायलगमा सहभागी हुन इटाली पुगे । एक महिनापछि दक्षिण–पूर्वी एसियामा रेड प्लसको कार्यान्वयनसम्बन्धी कार्यक्रममा सहभागी हुन पुस १६–२४ (नौ दिन)मा थाइल्यान्ड र इन्डोनेसिया पुगेको विवरणबाट देखिन्छ ।
चारपटक विदेश जाने कर्मचारी
प्राप्त विवरणअनुसार एक वर्षमा ६ कर्मचारीले चार–चारपटक विदेश भ्रमणको अवसर पाएका छन् । मन्त्रालयअन्तर्गत हाल चार सय ५८ कर्मचारी दरबन्दी छ । तर, विदेश भ्रमणको अवसर सीमित कर्मचारीले मात्र पाउँदै आएका छन् ।
मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख उपसचिव डा. बुद्धिसागर पौडेलले चार देशमा ३७ दिन विदेश भ्रमण गरे । उनी सेनेगलमा ०७९ भदौ २६–२८ (तीन दिन), इजिप्टमा कात्तिक १३–२ मंसिर (२० दिन) र इटालीमा चैत १–१० (१० दिन) रहे । इटालीबाट फर्केको तीन दिनमै चैत १३–१६ (चार दिन) उनी चिली पुगेको देखिन्छ ।
वन अनुसन्धान तथा प्रशिक्षण विभागका महानिर्देशक यमप्रसाद पोखरेलले पनि चार देश भ्रमण गरेका छन् । ०७९ असार ८–१५ (आठ दिन) कोस्टारिका पुगेर फर्केका उनी असोज ३१–२ कात्तिक (तीन दिन)का लागि भियतनाम गए, लगत्तै मंसिर १३–१५ (तीन दिन) श्रीलंकाबाट फर्केको चार महिनापछि ०७९ चैत १४ मा चीन गएको देखिन्छ ।
वनस्पति विभागकी महानिर्देशक डा. राधा वाग्ले पनि धेरै दिन विदेश बस्नेमा देखिएकी छिन् । उनी चार देश भ्रमणका क्रममा ३९ दिन विदेश बसिन् । उनले केही महिनाअघि विभागकै महानिर्देशक हुँदा सरकारी सेवाबाटै राजीनामा दिइसकेकी छिन् । उनले लगातार तीन महिनामा तीन देशको भ्रमण गरेको देखिन्छ । ०७९ वैशाख २६–६ जेठ (१२ दिन) बेल्जियम पुगेर फर्किएकी उनी दुई साता नबित्दै जेठ १७–२ असार (१७ दिन) जर्मनी गइन्, लगत्तै २५ दिनपछि असार २७–३१ (पाँच दिन) कम्बोडिया पुगेर आइन् । यसपछि फागुन २९–३ चैत (पाँच दिन) स्विट्जरल्यान्डसमेत पुग्न भ्याइन् ।
रेड कार्यान्वयन केन्द्रका उपसचिव यज्ञमूर्ति खनालले पनि चार देश घुमेका छन् । भ्रमणका क्रममा उनी २७ दिन विदेश बसेका छन् । ०७९ असार ८–१५ (आठ दिन) कोस्टारिका पुगेर फर्केका उनी त्यसको दुई साता पनि नबित्दै २८–३ साउन (आठ दिन)का लागि कम्बोडिया गए । यसपछि कात्तिक १–५ (पाँच दिन) अमेरिका गएर फर्केका उनी अर्को महिना मंसिर २६–२ पुस (६ दिन) मोजाम्बिकको कार्यक्रममा सहभागी भएर फर्के ।
मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाकै उपसचिव नरेश शर्माले पनि चारपटकमा तीन देश भ्रमण गरेका छन् । भ्रमणहरूमा सहभागी भएर उनी २२ दिन विदेश बसे । ०७९ कात्तिक २०–२ मंसिर (१३ दिन) इजिप्ट पुगेर फर्केका उनी त्यसको १८ दिनपछि २०–२२ (तीन दिन)का लागि थाइल्यान्ड गए, फेरि फागुन १६–१७ (दुई दिन) थाइल्यान्ड पुगेर फर्केपछि चैत ७–१० (चार दिन) जर्मनीको कार्यक्रममा सहभागी भए ।
अर्का उपसचिव डा. गणेश पन्त पनि तीन देश पुगेका छन् । ०७९ जेठ २४–२७ (चार दिन) दक्षिण कोरिया गएका उनी साउन २५–२७ (तीन दिन)का लागि भारत गए, त्यसपछि कात्तिक १६–१७ (दुई दिन) माल्दिभ्सपछि फागुन ३०–३ चैत (चार दिन) पुनः भारत गएको देखिन्छ ।
तीनपटक विदेश जाने कर्मचारी
मन्त्रालयबाट प्राप्त विवरणअनुसार मन्त्रालय र अन्तर्गतका १२ कर्मचारीले एक वर्षमा तीन देश भ्रमण गरेका छन् । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सहसचिव डा. सिन्धुप्रसाद ढुंगाना ०७९ असोज १०–१३ (चार दिन) अमेरिका, चैत १६–१७ (दुई दिन) स्विडेन र ०८० वैशाख ४ गते अमेरिका (एक दिन) भ्रमण गरेका छन् । वातावरण विभागका तत्कालीन महानिर्देशक (हाल सहकारी विभागका रजिस्ट्रार) नमराज घिमिरे, ०७९ मंसिर ९–१० (दुई दिन) श्रीलंका, मंसिर ११–१५ (पाँच दिन) माल्दिभ्स र चैत ८–१० (तीन दिन) फिलिपिन्स गएको देखिन्छ ।
त्यस्तै, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्की ०७९ असोज १०–१४ (पाँच दिन) अमेरिका, कात्तिक १९–२७ (नौ दिन) स्विट्जरल्यान्ड र ०८० वैशाख ११–१५ (पाँच दिन) युगान्डा गएको देखिन्छ । हाल वनस्पती विभागका महानिर्देशक डा. राजेन्द्र केसी ०७९ असार ८–१५ (आठ दिन) कोस्टारिका, ०७९ भदौ १४–१६ (तीन दिन) बेलायत र कात्तिक २८–९ मंसिर (१२ दिन) पानामा गएका छन् । वन मन्त्रालयका उपसचिव सुमन सुवेदी पनि ०७९ असार १२–१८ (सात दिन) कम्बोडिया, असोज २६–२७ (दुई दिन) फिलिपिन्स र फागुन २९–३० (दुई दिन) इन्डोनेसिया गएका छन् । मन्त्रालयकै उपसचिव शरदबाबु पंगेनी ०७९ असार १२–१८ (६ दिन) कम्बोडिया, कात्तिक १३–२ मंसिर (२० दिन) इजिप्ट र मंसिर २८–२ पुस (चार दिन) कोरिया गएका छन् । मन्त्रालयकै अर्का उपसचिव शंकरप्रसाद पौडेल ०७९ जेठ २३–३ असार (१२ दिन) स्विट्जरल्यान्ड, असोज २–७ (६ दिन) तथा फागुन २२–२४ (दुई दिन) इटाली गएका छन् ।
अर्का उपसचिव नवीनकुमार पोखरेल ०७९ मंसिर १०–१७ (सात दिन) उरुग्वे, फागुन ८–१० (तीन दिन) जापान र ०८० जेठ १४–१९ (६ दिन) फ्रान्स गएका छन् । उपसचिव बाबुकाजी डल्लाकोटी ०७९ मंसिर ७–९ (तीन दिन) सिंगापुर, मंसिर १४–१६ (तीन दिन) र माघ १२–१५ (चार दिन) थाइल्यान्ड गएका छन् ।
अर्का उपसचिव ज्ञानेन्द्रकुमार मिश्र ०७९ असार ८–१५ (आठ दिन) कोस्टारिका, असोज ६–१० (पाँच दिन) भियतनाम र कात्तिक २०–२ मंसिर (१३ दिन) इजिप्ट गएका छन् । मन्त्रालयकै शाखा अधिकृतद्वय नारायणप्रसाद पोखरेल र रेड कार्यान्वयन केन्द्रकी विष्णुकुमारी अधिकारी पनि तीन–तीनपटक विदेश गएका छन् । पोखरेल ०७९ जेठ १९–२० (दुई दिन) स्विडेन पुगेर फर्केको तीन दिनपछि जेठ २३–३ असार (१२ दिन) स्विट्जरल्यान्ड र कात्तिक २०–२ मंसिर (१३ दिन) इजिप्ट गएका थिए । अधिकारी असार १२–१८ (सात दिन) कम्बोडिया, कात्तिक २०–२ मंसिर (१३ दिन) इजिप्ट र पुस १६–२४ (नौ दिन) थाइल्यान्ड र इन्डोनेसिया पुगेर फर्किन् । मन्त्रालयबाट प्राप्त विवरणअनुसार २९ कर्मचारीले एक वर्षमा दुईपटक वैदेशिक भ्रमणको अवसर पाएका छन् भने एकपटक विदेश जानेको संख्या एक सय दुई छ ।
कर्मचारीलाई खुसी पार्न विदेश भ्रमण गराइन्छ, यो ठीक होइन
सुकदेव भट्टराई, पूर्वकार्यवाहक महालेखापरीक्षक
हरेकजसो सरकारले वैदेशिक भ्रमण नियन्त्रण गर्ने घोषणा गर्दै आएका छन् र बजेटमा राखिनेछ । तर, भ्रमण रोकिएका छैनन् । वैदेशिक भ्रमणका सम्बन्धमा विकासे मन्त्रालय र साधारण मन्त्रालयबीच फरक छ । साधारण मन्त्रालयले अर्थको स्वीकृति र आफ्नो मन्त्रालयको बजेट शीर्षकबाटै जान्छन् । तर, भौतिक पूर्वाधार, सहरी विकास, वन, कृषि, स्वास्थ्य, सिँचाइलगायतमा भने दाताको बजेटमा वैदेशिक भ्रमण हुन्छ ।
वैदेशिक सहायताको आयोजनामा दाताहरूले एकमुस्टमै बजेट राखेर कर्मचारीको विदेश भ्रमणको व्यवस्था गर्ने गरेका छन् । विश्व बैंक, एडिबीलगायत दाताका प्रायः आयोजनाका सबै सम्झौतामा भ्रमणको बजेट हुन्छ । यस्ता आयोजनामा विदेशीलाई परामर्शबाट खुसी पारिन्छ, कर्मचारीलाई भ्रमणबाट । सम्झौताको प्याकेजभित्रैबाट भ्रमण गराइने भएकाले सरकारले विकासे मन्त्रालय र निकायको अनावश्यक भ्रमण रोक्न सकेको छैन । आयोजना सम्झौतामा यस्तो बजेट नराख्न धेरैपटक भनेका पनि थियौँ, तर रोकिएको छैन । यस्ता भ्रमणले आयोजनाको कार्यसम्पादन कमजोर हुने जोखिम हुन्छ ।
चारपटक विदेश भ्रमण : एक वर्षमा ६ कर्मचारीले चार–चारपटक विदेश भ्रमणको अवसर पाएका छन् । मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख उपसचिव डा. बुद्धिसागर पौडेल (४ देश, ३७ दिन), वन अनुसन्धान तथा प्रशिक्षण विभागका महानिर्देशक यमप्रसाद पोखरेल (४ देश, १४ दिन), वनस्पति विभागकी महानिर्देशक डा. राधा वाग्ले (४ देश, ३९ दिन), रेड कार्यान्वयन केन्द्रका उपसचिव यज्ञमूर्ति खनाल (४ देश, २७ दिन), जलवायु परिवर्तन व्यवस्थापन महाशाखाकै उपसचिव नरेश शर्मा (३ देश, २२ दिन) र उपसचिव डा. गणेश पन्त (३ देश, १३ दिन)
तीनपटक विदेश भ्रमण गर्ने : १२ कर्मचारीले एक वर्षमा तीन देश भ्रमण गरेका छन् । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सहसचिव डा. सिन्धुप्रसाद ढुंगाना (२ देश, ७ दिन), वातावरण विभागका तत्कालीन महानिर्देशक (हाल सहकारी विभागका रजिस्ट्रार) नमराज घिमिरे (३ देश, १० दिन), राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्की (३ देश, १९ दिन), वनस्पती विभागका महानिर्देशक डा. राजेन्द्र केसी (३ देश, २३ दिन), वन मन्त्रालयका उपसचिव सुमन सुवेदी (३ देश, ११ दिन), मन्त्रालयकै उपसचिव शरदबाबु पंगेनी (३ देश, ३० दिन), उपसचिव शंकरप्रसाद पौडेल (२ देश, २० दिन), उपसचिव नवीनकुमार पोखरेल (३ देश, १६ दिन), उपसचिव बाबुकाजी डल्लाकोटी (२ देश, १० दिन), उपसचिव ज्ञानेन्द्रकुमार मिश्र (३ देश, २६ दिन), मन्त्रालयकै शाखा अधिकृत नारायणप्रसाद पोखरेल (३ देश, २७ दिन) र रेड कार्यान्वयन केन्द्रकी अधिकृत विष्णुकुमारी अधिकारी (४ देश, २९ दिन) । नयाँपत्रिकाबाट