प्रथम भएको राजेन्द्र दाहालको कविता

Avatar photo
Dhadingpost
शुक्रबार, असार २२, २०८०

म र मेरो देशको सफर

काँधमा सपनाको सुवासना
र, पैतालामा कफनको साईत बोकेर
लम्किरहेछ मेरो देश……….।
ऊ बेलादेखि
मेरो सफरमा
भुर्भराईरहेछ आगो
चलिरहेछ बतास
र,
वरपर गरिरहेछन् बादलहरु
कतै अल्मलिएलाकी भनेर
आकाशभरी उदाएका छन् जून
र,
मुस्कुराएको छ चन्द्रमा
म परदेशिएपछि
खेलीरहेकी छोरीलाई
बगिरहेको खोलाले
टक्क रोकिएर सोधेछ समय ।
यता म
डायस्पोराको मनलाई
टालै–टालाले सिलाएर
उनेको छु पत्र
र, पठाएको छु कुहिरोका कागहरुलाई
बारम्बार अखबारका पानाहरुमा
आईरहने समाचार
च्यातिरहेको छु
र, लुकाएको भाग्यको
रातो बाकस
हरेक दिन पठाईरहेछु ।
कसरी भरिन्छ मेरो देश ?
परदेशका पसिनाले
उजाडिएको बस्तिले
र, हराएको चेतनाले
विवेक विहीन बनेर
सोचिरहेछु
देशभित्रै देश हराएको पीडा
स्वदेशको माटोलाई पैतालाले
नापेको छु धेरै पल्ट
हातभरी कोरिएका रेखाहरुमा
खोज्दैछु बाटो ।
तर खै किन
मेरो देश
पालो छाडेर दौडिएको वर्तमान झै
ढलपल ढलपल गर्दै
अनन्त अनन्ततिर दौडिरहेछ ।

राजेन्द्र दाहाल, चन्द्रोदय मावि विशालटार, बेनीघाट रोराङ धादिङ