काठमाडौं । २०१९ डिसेम्बरदेखि सुरु भएको कोभिड भाइरसको जोखिम अझै अन्त्य भएको छैन । कोभिड भेरियन्टमा भइरहेको तीव्र जिन परिवर्तनका कारण हालसम्म हजारौँको संख्यामा सबभेरियन्ट पत्ता लागिसकेका छन् भने नयाँ भेरियन्टले लगातार संक्रमण फैलाइरहेका छन् ।
पछिल्लो समय म्युटेड भएर ओमिक्रोनको सबभेरियन्ट ‘एक्सबिबी’ फैलिरहेको छ । ओमिक्रोनको बिए २ भेरियन्टअन्तर्गतको यो नयाँ म्युटेड भाइरस गत अक्टोबरमा पहिलोपटक अमेरिकाको न्युुयोर्कमा पुष्टि भएको थियो । तर, डब्लुएचओले भने हाल विश्वका विभिन्न भागमा ओमिक्रोनका फरक–फरक सबभेरियन्ट देखिएको बताउँदै आएको छ ।
कोभिड भेरियन्ट र सबभेरियन्टको जिनमा लगातार आइरहेको परिवर्तनले महामारीको जोखिम घट्न नसकेको अध्ययनले देखाएका छन् । अनुसन्धानकर्ताले जिनमाथि गरिरहेको अध्ययनले बढी संक्रामक मानिएका भेरियन्टलाई मात्रै नामकरण गरे पनि हजारौँको संख्यामा म्युटेसन भइसकेको छ ।
अध्ययनअनुसार पछिल्लो समय संसारभर फैलिरहेको ओमिक्रोन भेरियन्ट मात्रै एक सय ७८ पटक म्युटेसन भएको छ । बिए १ मा ३९, बिए १.१ मा ४०, बिए २ मा ३१ र बिए ३ मा ३४ म्युटेसन भएको छ ।
त्यस्तै, बिए १, बिए २ र बिए ३ का सबभेरियन्टबीच थप २१ र ओमिक्रोनका पाँचै भेरियन्टको रिसेप्टर बाइन्डिङ डोमेन गर्दा थप ११ वटा म्युटेसन भेटिएको छ । अनुसन्धानकर्ताले लक्षणका आधारमा परीक्षण गर्दा यी मुख्य म्युटेसन भेटिए पनि थप सयौँको संख्यामा म्युटेसन भइरहेको दाबी गरेका छन् ।
डब्लुएचओले हालसम्म ओमिक्रोनलाई बिए १, बिए २, बिए ३, बिए ४ र बिए ५ सबभेरियन्टमा वर्गीकरण गरेर अनुसन्धान गरिरहेको छ । अझैसम्म विश्वभर महामारीको रूप लिइरहेको ओमिक्रोनका भेरियन्टमा भइरहेको १८ म्युटेसन हाल फैलिइरहेको बताइएको छ ।
जसमध्ये हालसम्मकै बढी संक्रामक देखिएका बिए १ र बिए २ ले अस्पताल भर्ना भने बढाएका छैनन् । बिए ३, बिए ४ र बिए ५ भने तुलनात्मक रूपमा कम संक्रामक देखिएका छन् । तर, पछिल्ला केही महिनायता युरोप र अफ्रिकाका केही देशमा बिए ४ र बिए ५ फैलिइरहेको डब्लुएचओले जनाएको छ । नयाँ पत्रिकाबाट