उपराष्ट्रपति निर्वाचन आज हुँदै

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र ३, २०७९

काठमाडौं । गणतन्त्र नेपालको चौंथो कार्यकालका लागि तेस्रो उपराष्ट्रपति चयन गर्न आज निर्वाचन हुँदै छ । उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी कायम छ । तर, जसपाबाट उम्मेदवार बनेकी प्रमिला यादवले भने उम्मेदवारी फिर्ता लिने समय घर्किएपछि आफ्नै दलबाट उम्मेदवार बनेका रामसहाय यादवलाई समर्थन गर्दै आफू उम्मेदवार नरहेको घोषणा गरिसकेकी छन् । उपराष्ट्रपति निर्वाचनमा संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम भएको निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपति चयन गर्न संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान हुनेछ । निर्वाचनमा संघीय संसद्का ३ सय ३१ र प्रदेशसभा सदस्य ५ सय ५० गरी ८ सय ८१ जना मतदाता कायम भएका छन् ।

उपराष्ट्रपति पदका लागि जनमत पार्टीबाट ममता झा उम्मेदवार छिन भने नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् । सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले झालाई उपराष्ट्रपति उम्मेदवार बनाएको हो । उपराष्ट्रपतिको उम्मेदवार रामसहायप्रसाद यादवको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, एकीकृत समाजवादीका किसन श्रेष्ठ, माओवादी केन्द्रका शक्ति बस्नेत र नेपाली कांग्रेसका रमेशजंग रायमाझी छन् । उनको समर्थकमा जसपाकी रेखा यादव, अम्बिका काफ्ले, एकीकृत समाजवादीका प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी छन् ।

जनमत पार्टीकी नेत्री झाको प्रस्तावकमा जनमत पार्टीका अब्दुल खान, अनिता देवी, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव छन् । उनको समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी छन् । एमालेबाट उम्मेदवार बनेकी शाक्यको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, रघुवीर महासेठ छन् भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल छन् ।

२५ फागुनमा भएको निर्वाचनबाट राष्ट्रपति पदमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । देशको पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव तथा उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । त्यसपछि दोस्रो राष्ट्रपतिमा भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए । यस्तै, तेस्रो पटकसमेत २०७४ सालमा भएको निर्वाचनमा राष्ट्रपति पदमा भण्डारी र उपराष्ट्रपतिमा पुन नै दोहोरिएका थिए । त्यसबखत राष्ट्रपति पदको निर्वाचन २०७४ फागुन र उपराष्ट्रपतिको निर्वाचन चैतमा भएको थियो । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल आजै सकिँदै छ । राजधानी दैनिकबाट