धादिङको राष्ट्रपति रनिङ शिल्डको उद्घाटन भोली मुख्यमन्त्रीले गर्ने

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २२, २०७९

धादिङ । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा गजुरी गाउँपालिकाको व्यवस्थापनमा भोलि देखि हुने १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमकट्टेलले भएका छन् । प्रतियोगिताको उद्घाटन मंगलबार बिहान ११ बजे गजुरीको खेल मैदान गलौदीमा हुने छ ।

जिल्लाका १३ वटा पालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि खेलाडी छनोट गरेपनि नेत्रावती डवजोङ र गंगाजमुना सम्पर्कमा आएको छैन अन्य ११ वटा पालिका सम्पर्कमा आएको अध्यक्ष प्रतापसिंह तामाङले धादिङपोष्टलाई बताए ।

पालिकाबाट छनोेट भएर आएका १८ वर्ष सम्मका छात्र/छात्रा विद्यार्थीहरुले भाग लिन पाउने यस प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट संचालन हुनेछन् । एथलेटिक्स अन्तरगत दौड (ट्रयाक) तर्फ र उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ एवम् मार्सल आर्ट अन्तरगत कराँते (सितेरिया), तेक्वान्दो र उसुका खेलहरु हुने छन् । जिल्लाबाट छनोट भएकमा खेलाडीहरु प्रदेश छनोट पार गर्दै राष्ट्रिय प्रतियोगिताको लागि खेल्न पाउने छन् ।

धादिङमा यसअघि ११ औं संस्करणको जित निकालेको धुनीबेसी यो पटक पनि रनिङ शिल्ड आफ्नै पक्षमा पर्ने तयारीका साथ प्रतियोगितामा आउने तयारीमा छ भने १० औं संस्करणमा रनिङ शिल्ड जितेर १२ औं मा गुमाउन पुगेको बेनीघाट रोराङले यो पटक रनिङ शिल्डको दावेदारको रुपमा सबै इभेन्टमा भाग लिने गरि मैदानमा उत्रने भएको छ भने ३० वटा भन्दा बढी माध्यामिक विद्यालय रहेको नीलकण्ठ नगरपालिकाले पनि यो पटक रनिङ शिल्को दावी सहित मैदानमा उत्रदै छ ।