वाका कप चैत २० देखि हुने प्रथम पुरस्कार १ लाख ५० हजार

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २२, २०७९

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका ३ सेमजोङ स्थित वाका खेल मैदान गैरामा छार वाका राहा युवा क्लवले चैत्र २० गते देखि १३ औं वाका कप तथा प्रथम अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

आयोजक छार वाका राहा युवा क्लवले गत वर्षको वाका कपको पुरस्कार राशी बढाउँदै यो वर्ष प्रतियोगिताको नाम समेत वाका कप तथा प्रथम अध्यक्ष कप बनाएको छ । यो सँगै गत वर्ष भन्दा २५ हजार बढाएर यो वर्ष विजयी टिमले १ लाख ५० हजार नगद जित्ने छ भने, उप विजेता टिमलाई गत वर्ष ६० हजार प्रदान गरिएकोमा यस वर्ष बढाएर ७५ हजार बनाएको छ ।

आईतबार बसेको क्लवको बैठकले गाउँपालिका सँग समन्वय गरि खेत संचालन मिति सार्वजनिक गरेको हो । बैठकले पुस्कार राशी टुङ्ग्याउँदै सेमीफाईनलमा रोकिने दुई टिमलाई १२–१२ हजार प्रदान गर्ने, उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट गोल किपरलाई ५ हजार, उच्च गोलकर्तालाई ५ हजार प्रदान गर्ने निर्णय समेत गरेको छ ।

बैठकले टिम दर्ताको अन्तिम मिति चैत्र १९ गते सम्म राख्ने, निर्णय गर्दै बुद्धिमान तामाङमो संयोजकत्वमा ९ सदस्यी खेल संचालन समिति समेत गठन गरेको छ । चयन भएका खेल संचालन समितिको सह संयोजक पूर्णमान तामाङ सदस्यहरुमा मैसिङ मम्बा, सुकबहादुर तामाङ, रामबहादुर गुरुङ, भक्ते तामाङ, देवेन्द्र तामाङ, सुकराम तामाङ र दिपक तामाङ रहेका छन् ।

धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ गैरा साबिक सेमजोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो । समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित यो ठाउँ धादिङ र नुवाकोट जिल्लाको सिमाना समेत भएकोले पछिल्लो समय यो ठाउँमा धादिङ र नुवाकोटका आन्तरिक पर्यटकको आकर्षण बड्दो छ ।

यस ठाउँको प्रचार-प्रसारको लागि छार वाका राहा युवा क्लव सेमजोङले हरेक वर्ष वाका कप फुटबलको आयोजना गर्दै आएकोमा यस वर्ष देखि प्रतियोगिताको नाम वाका कप र अध्यक्ष कप बनाउँदै प्रतियोगितालाई झनै व्यापकता बनाईएको दिपक तामाङले धादिङपोष्टलाई बताए ।

११ औं वाका कप पनि चैत्र ११ गतेबाट भएको थियो भने १२ औं वाका कप चैत्र २२ गते देखि भएकोमा यस वर्षको १३ औं वाका कप तथा प्रथम अध्यक्ष कप नयाँ वर्ष बैशाख १ गते सकिने गरि चैत २० गते देखि हुने भएको छ । ११ औं वाका कप उपाधी चौतारा युवा समाज (टिम बी) ले डबजोङ क्षेत्र संरक्षण युवा क्लव (टिम ए) लाई हराउँदै उपाधी चुमेको थियो भने १२ औं वाका कप उपाधी नुवाकोटको सानो किम्ताङ युवा क्लव किम्ताङलाई पराजित गर्दै धादिङको नेत्रावती डवजोङ गाउँपालिका २ को डुप्चे युवा क्लव केवराले जितको थियो ।