मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ३, २०७९

धादिङ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार, मुख्यमन्त्री जम्कट्टेलले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १०५ मत प्राप्त गर्दै विश्वासको मत पाएका छन् ।

१०९ सदस्य उपस्थित प्रदेशसभाको वैठकमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव मा पक्षमा १०५ मत र विपक्षमा ३ मत परेको थियो । प्रदेशसभामा ११० जना सांसद रहेका छन् ।

जम्कट्टेलले प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका छन् भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातमध्ये ६ दलले उनलाई विश्वासको मत दिएको छ ।

पुस २५ गते मुख्यमन्त्री नियुक्त हुँदा जम्कट्टेललाई नेपाली कांग्रेसले समर्थन गरेको थिएन । नेपाली कांग्रेस कार्यसम्पादन समितिको मंगलबार बिहान बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो ।

प्रदेश सभामा ३ जना मात्र सांसद रहेको नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले विपक्षमा मतदान गरेको छ । अब बागमती प्रदेश सभामा नेमकिपा मात्र प्रतिपक्षी दलको रुपमा रहेको छ । मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस सहित ६ दलको विश्वास जुटाउन सफल भएका छन् ।