मुख्यमन्त्री जम्कट्टेल र थप दुई मन्त्रीले लिए शपथ

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २६, २०७९

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथग्रहण गरेका छन् । सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले मङ्गलवार बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्रीको शपथ लिएका हुन् ।

मुख्यमन्त्री जम्मकट्टेलसँगै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको रूपमा शपथ गरेका छन् । राप्रपाका संसदीय दलका नेता उद्धव थापाले बिना विभागीय मन्त्रीको रूपमा शपथग्रहण गरेका छन् ।

०३० सालमा धादिङको किरणचोक गाविसमा जन्मिएका जम्कट्टेलले २०४४ मा अखिल छैठौँमा आबद्ध भएर राजनीतिक जीवनको सुरूवात गरेका थिए । २०४८ सालबाट मजदुर आन्दोलनमा सक्रिय उनी माओवादीले थालेको जनयुद्धमा सुरूदेखि नै होमिए । २०६० बाट करिब एक दशक माओवादीको मजदुर संगठनको नेतृत्व सम्हालेका जम्कट्टेल २०६३ को अन्तरिक संसद भए भने २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई पराजित गर्दै विजयी बनेका थिए ।

२०७० को दोस्रो संविधानसभामा उनै पाण्डेसँग पराजित भएका जम्कट्टेल त्यस यता भएको दुवै प्रदेशसभामा विजयी भएका छन् । २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा माओवादीबाट विजयी भएर संसदीय दलको नेता बनेका उनी प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामलिा तथा कानून मन्त्री तथा यसअघि कांग्रेसको नेतृत्वमा रहेको पाँचदलीय गठबन्धनको राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा पनि कानूनमन्त्री नै बनेका थिए ।