शालिकराम जमकट्टेल बागमतीको मुख्यमन्त्रीमा नियुक्त

Avatar photo
Dhadingpost
सोमवार, पुस २५, २०७९

हेटौंडा । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

०३० सालमा धादिङको किरणचोक गाविसमा जन्मिएका जम्मकट्टेलले २०४४ मा अखिल छैठौँमा आबद्ध भएर राजनीतिक जीवनको सुरूवात गरेका थिए । २०४८ सालबाट मजदुर आन्दोलनमा सक्रिय उनी माओवादीले थालेको जनयुद्धमा सुरूदेखि नै होमिए । २०६० बाट करिब एक दशक माओवादीको मजदुर संगठनको नेतृत्व सम्हालेका जम्कट्टेल २०६३ को अन्तरिक संसद भए भने २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई पराजित गर्दै विजयी बनेका थिए ।

२०७० को दोस्रो संविधानसभामा उनै पाण्डेसँग पराजित भएका जम्कटेल त्यस यता भएको दुवै प्रदेशसभामा विजयी भएका छन् । २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा माओवादीबाट विजयी भएर संसदीय दलको नेता बनेका उनी प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामलिा तथा कानून मन्त्री तथा यसअघि कांग्रेसको नेतृत्वमा रहेको पाँचदलीय गठबन्धनको राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा पनि कानूनमन्त्री नै बनेका थिए ।