बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेल बन्ने

Avatar photo
Dhadingpost
सोमवार, पुस २५, २०७९

धादिङ । सत्तासाझेदार दलहरूले सातवटै प्रदेशका मुख्यमन्त्री र सभामुखको बाँडफाँट टुंगो लगाएका छन् । जसमा बागमती प्रदेशको पहिलो २ वर्षका लागि मुख्यमन्त्री माओवादी केन्द्रका शालिकराम जमकट्टेललाई बनाउने र अर्को दुई वर्षका लागि बागमतीको मुख्य मन्त्री एमालले चयन गर्ने छ ।

मुख्य मन्त्रीको दावी गरि रहेको राप्रपालाई प्रदेशको सभामुख दिने सत्तासाझेदार दलहरू सहमती बने सँगै माओवादी र एमालेले आलोपालो मुख्य मन्त्री दिन र पहिलो मुख्य माओवादीका मन्त्री शालिकराम जमकट्टेललाई बनाउने सहमति भएको बताईएको छ ।

बामगती प्रदेश एक सय १० सदस्यीय रहेकाले बहुमत पुर्‍याउन ५६ सांसद आवश्यक छ । बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेसको ३७ जना सांसद रहेका छन् भने एमालेका २७, माओवादीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुईजना सांसद रहेका छन् । साझेदार दलहरूको पछिल्लो सहमतिअनुसार बहुमतका लागि ६१ सांसद संख्या पुग्छ ।

सहमतिअनुसार प्रदेश १, गण्डकी र लुम्बिनीसहित तीनवटा प्रदेशमा एमालेबाट मुख्यमन्त्री बन्नेछन् । प्रदेश १ मा आइतबारै एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।त्यस्तै, माओवादीले कर्णालीमा मुख्यमन्त्री पाउनेछ । बागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी जुटेको छ । यद्यपि पहिले कसले नेतृत्व लिने अन्तिम टुंगो लाग्न बाँकी छ ।