नीलकण्ठ नगरपालिकाको शैक्षिक अवलोकनको उपलब्धी

Avatar photo
Dhadingpost
बिहिबार, पुस १४, २०७९

पहिलो दिनको यात्राको उपलब्धी यस अघि प्रकाशित भईसकेको छ । नपढ्नु भएको भए यहाँ क्लिक गरेर फेरि पढ्न सक्नु हुनेछ । अब लागौं बाँकी भाग तर्फ नीलकण्ठ नगरपालिकाको भ्रमण टोली साँझ सुन्दर पर्यटकीय गाउँ घलेगाउँ प्रवेश गरेसँगै बसाइ व्यवस्थाका लागि त्यहाँको होमस्टे व्यवस्थापन समितिले पाँच,छ जनाको समुह बनाई विभिन्न घरहरुमा बास विन्यास गरिदियो । आफ्नो भागमा परेको होमस्टेतर्फ प्रस्थान गरियो ।

प्राय सबैजसो दिनभरीको बसको यात्राले थकित प्राय भइसकेका थियौं । साथै भोकले पनि हामीलाई कमजोर महशुस गराइरहेको थियो । हिमालको काखमा अवस्थित घलेगाउँको चिसोले घरबाहिर यतिकै बस्न सक्ने अवस्था थिएन । राता र नीला टिनका छाना अनि ढुङ्गाको गाह्रो भएका होचा होचा स–साना झुपडिहरु ,प्राय सबैजसो घरहरुमा ढुङ्गा बिछ्याइका आँगन,पाहुनाहरुलाई स्वागत र विदाइका निम्ति रोपिएका फूलहरु अनि हरेक घर एकअर्कासँग जोड्नका निम्ति बनाइएका गोरेटा बाटाहरुले स्थानीय होस् वा विदेशी सबैजसो पर्यटकहरुलाई आकर्षित नगर्ने कुरै थिएन ।

चिसो वातावरणलाई न्यानो बनाउँदै घरबाहिरै रम्नका निम्ति घरबेटीले एउटा जस्ताको पातामाथि केहि चिर्पट ल्याएर आगो बाल्न थाले । आगोको वरीपरी रिङ्गै बसेर मकै कालोभटमास र गुन्द्रुकको अचार,र झ्वाईंखट्टे,स्थानीय कुखुराको मासु अनि कालो चियाको चुस्की यत्तिकै आनन्ददायक थियो । बेलुकाको खाना चाहिं हामीले अपेक्षा गरेभन्दा फरक थियो । हाम्रा मथिङ्गलमा स्थानीय घले खान्कीको परिकारहरुको परिकल्पना थियो तर खाना सामान्य दालभात तरकारी मात्रै थियो । खाना खाएपछि स्थानीय घले सांस्कृतिक कार्यक्रमका लागि गाउँको माथिल्लो भागमा अवस्थित रोधी घरमा लागियो । स्थानीय घले नाचसंगै हाम्रो भ्रमण टोलीका सदस्यहरुसमेतको सहभागीताले रोधी साँझ मनोरञ्जनपूर्ण रह्यो । राती १० बजेपछि रोधीघर बन्द गर्ने नियम अनुसार हामी सबै आ–आफ्नो होमस्टेमा सुत्यौं ।

पौष १० गते:
विहानीको झिसमिसेसँगै सबैजना टिमुर,अदुवा हालेको चिया पिएर हामी घलेगाउँकै शीरमा रहेको भ्युटावरतर्फ लाग्यौं । बस्तीको नजिकै डाँडामा अवस्थित भ्युटावरबाट विभिन्न हिमश्रृङ्खलाहरु आँखै अगाडी देख्न पाउँदा स्वर्गीय आनन्दको अनुभुति भइरहेको थियो । डाँडाबाट देखिने घलेगाउँको सिंगो वस्ती,चारैतिर देखिने विभिन्न पहाडहरु अनि मनोरम हिमश्रृङ्खलाले आम पर्यटकहरुलाई भरपुर मनोरञ्जन दिलाइरहेको थियो । प्राकृतिक मनोरम दृश्यहरुसँग आफ्नो तस्वीर समायोजित गर्दै मोबाइल ग्यालरीमा भरेर विहान ८:३० बजे कोदोको सेलरोटी,अण्डा,गुन्द्रुक भटमासको अचारको सत्कार, सेतो अक्षता र सयपत्री फूलका मालासहित घलेगाउँबाट हामी विदाइ भयौं ।

पर्यटन उद्योगको विकासले हाम्रो जस्तो अनेक विशेषता बोकेको ग्रामिण वस्तीको विकासमा कस्तो योगदान दिन सक्छ भन्ने एउटा उदाहरण घलेगाउँले दिएको निष्कर्षसाथ हामी विहानको ९ बजे आफ्नो सवारीमा चढ्यौं । हिजोकै कहालीलाग्दो कठिन कच्ची सडक पार गर्दै हामी १०:४० मा लमजुङ सदरमुकाम बेसीसहर आर्लियौं र होटल भ्यु मण्डलामा विहानको खाना खाएर मध्यान्ह १२ बजे कास्कीको घान्द्रुकतर्फ यात्रा सोझ्यायौं । दायाँबायाँ पातला बस्तीहरु,प्राय बाँझा फाँटहरु,फाट्टफुट्ट तोरी खेती अनि फाँटको छेउमै बगेकी नीलो मस्र्याङदी नदिको चियोचर्चो गर्न हाम्रा नयनहरु व्यस्त थिए । बस आफ्नै गतिमा अघि बढ्रदै थियो । उपमेयर सवार नगरपालिकाको सानो गाडी अघिअघि हामी पघिपघि विष्णु माझिको मधुर गीत सुन्दै,रमाइला गफ गर्दै बेलुकी सवा चारबजे पोखरा पुग्यौं । हाम्रो गन्तव्य घान्द्रुकसम्मको भएकाले हामी पोखरामा अलमल नगरी हल्का ड्राइफुडको व्यवस्था गरी बसमा चपाउँदै पानीले निल्दै यात्रा अघि बढायौं ।

समयको चाप र ठाउँठाउँमा सडक स्तरोन्नतिको काम भइरहेकाले जामको समेत सामना गर्नुपरेकाले दोश्रो दिन हामिले शैक्षिक क्षेत्रको अवलोकन गर्ने अवसर पाएनौं । घान्दू्रकतर्फ जाने करिब १५ कि.मी. बाटो साँघुरो ,कच्ची र भीरको बाटो जानुपर्ने रहेछ । साँझ सवा सातबजे हामी घान्दु्रक बसपार्कमा ओर्लियौं । बसपार्कबाट माथितिर बस्ती रहेछ । साँझको भिलिमिली बत्तीले रोमाञ्चक साँझको अनुभूति गराइरहेको थियो । होटल सामिप्यमा हाम्रो बसाइ व्यवस्थापन मिलाइएको थियो । उक्त होटलका एकजना कर्मचारी हामीलाई लिन बसपार्कमा आइपुगे । हामी उनैका पछिपछि करिब ५ मिनेट उकालो ढुङ्गा छापिएको गल्ली गल्ली हिड्यौं र बासस्थान पुग्यौं । अध्याँरो छपक्कै भइसकेकाले हामीले घान्द्रकको सक्कली मुहार अनुमान गर्न सकेनौं । पोखराबाट घान्द्रुकतर्फ अघि बढ्दै गर्दा सामाजिक सञ्जालमा सरकारी गठबन्धन टुटेको र नयाँ समिकरण बनेको सनसनिपूर्ण समाचारले सबैको ध्यानाकर्षण गरेको थियो । विहानदेखको लामो यात्रा र आकस्मिक रुपमा विकसित राजनितिक घटनाक्रमले बेलुकाको घान्द्रुक बसाई खासै मनोरञ्जनपूर्ण हुन नसकेको अनुभूति मलाई भयो । मैले मनमनै घलेगाउँ र घान्दु्रकको बस्तीवीचको अन्तर तुलना गरें । घान्दु्रक आधुनिक सहरी विकासले छपक्कै छोपिएको थियो, नेपाली ग्रामिण मौलिकताभन्दा सहरी विलासितातिर ढल्किसकेको थियो । सहरको आधुनिक सुविधासम्पन्न होटलहरुको भीडभाड देखिन्थ्यो । हामी बेलुकाको खाना खाएर सुत्यौं ।

पौष ११ :
शिशिरको चिसोबीच विहान ६ बजेबाट घान्द्रुक ब्यूझन थालीसकेको थियो । हामी बसेको होटल घान्दु्रकको माथिल्लो भागमा भएकाले बरण्डा र छतबाट माछापुछ्र्र्रे हिमालको दृश्य आँखै अगाडी उभिए झैं देखिन्थ्यो । बाहिरको मौसम अत्यन्त चिसो थियो तर मनमोहक हिमश्रृङ्खला र पर्यटकीय घान्दु्रक गाउँको दृश्यले सबैलाई छततिर तानिरहेको थियो । केहिबेरको दृश्यास्वादन र फोटोसेसनपछि कोही खाजा खान,कोहि तातो पानी अनि कोहि चियाको चुस्किसँगै घान्दु्रकको प्रशंसा गर्दै थियौं भने कोही अघिल्लो दिन देशमा विकसित राजनीतिक घटनाक्रम (नयाँ गठबन्धन निर्माण,काँग्रेसको अवस्था र भावी सरकार गठन आदिको)बारेमा अड्कलबाजी गर्दै थियौं । विहान सवा नौ बजे हामी घान्दु्रकको पूर्वतर्फको साँस्कृतिक वस्ती हुँदै पुन पोखराका लागि प्रस्थान ग¥यौं ।

नेपालको प्राकृतिक अवस्थिति र बहुसाँस्कृतिक कलेबरको अन्तरघुलनबाट पैदा भएको पर्यटकीय स्थलहरुको व्यवस्थापन गर्न सक्दा घलेगाउँ र घान्दु्रक जस्ता थुप्रै पर्यटकीय गन्तव्यहरु विकास गर्न सकिने व्यावहारिक ज्ञानसहित हामी ओरालो लाग्यौं । विहान ११ बजे लुम्ले (काँडे)स्थित थकाली भान्छा घरमा खाना खाएर पोखरातिर अघि बढियो । विभिन्न वस्ती,साना सहर,भीर पखेराहरु पार गर्दै सुन्दर पर्यटकीय सहर पोखरा पुग्दा घडीको सूइले मध्यान्हको साँढे १२ बजाइसकेको थियो । पूर्व निर्धारित कार्यक्रम अनुसार पोखरा महानगरपालिका शिक्षा महाशाखासँग शैक्षिक अन्तरक्रिया गर्नका लागि हामी महाशाखाको कार्यालय पुग्यौं । शिक्षा महाशाखाको हल खाली नभएकाले कार्यालयको आँगनमै उभिएर महाशाखा प्रमुख हेमप्रसाद आचार्यसँग पोखराको शिक्षा प्रणालीकाबारेमा संक्षिप्त अन्तरक्रिया गरियो । पोखरामा सामुदायिक विद्यालयभन्दा संस्थागत विद्यालय बढि रहेको (२०२ सामुदायिक,२७३ संस्थागत) जानकारी प्राप्त भयो । पोखरा महानगरले गरेका केहि भिन्न कार्यक्रमहरु जस्तै: नगरपालिका आफैंले प्राविधिक शिक्षालयहरु (सिभिल , अटो र फरेस्ट्रि) संचालन गरेको,केहि सामुदायिक विद्यालयहरुमा महानगरकै प्रत्यक्ष निगरानी र लगानीमा क्ष्ऋत् द्यबकभम पठनपाठन संचालन गरेको,वालविकास कक्षादेखि क्रमश: माथिल्ला कक्षाहरु सुधारका निम्ति कार्यक्रमहरु संचालन गरेको,प्रसुति सट्टा शिक्षकको व्यवस्था गरेको,नगर शिक्षा परिषद गठन गरेको जस्ता कार्यक्रमहरुले सामुदायिक विद्यालयको गुणस्तर सुधारका निम्ति सकारात्मक पहल थालनी भएको अनुभुति भयो । तथापी महानगरले शिक्षा क्षेत्रका अरु कैयन पक्षमा ध्यान पु¥याउन बाँकी रहेको अनुभुति पनि भयो ।

महानगर शिक्षा महाशाखालाई नीलकण्ठ नगरपालिकाको मायाको चिनो उपहार प्रदान गरेर हामी महानगरकै सामुदायिक विद्यालय अवलोकनका लागि प्रस्थान ग¥यौं । यसबीचमा हाम्रो भ्रमणको नेतृत्व गरिरहनुभएका नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा अर्कौ काम विशेषले काठमाण्डौं जानुपर्ने भएकाले उहाँ विदावारी हुनुभयो । सवा २ बजे हामी सितलादेवी सामुदायिक मा.वि.को प्राङ्गणमा प्रवेश ग¥यौं । सहरको मध्यभागमा निर्मित विशाल र आकर्षक संरचनाहरु, फराकिलो परिसर, विद्यालयका लागि आवश्यक प्राय सबै पूर्वाधारहरु भएको सितलादेवी सामुदायिक विद्यालयले ६/७ वर्षको मिहिनेतमा देशकै उत्कृष्ट विद्यालयको रुपमा दर्ज गर्दै दुइ पटक राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुन सफल भएको जानकारी प्रधानाध्यापक बाबुराम अधिकारीले जानकारी गराउनुभयो ।

वालविकासदेखि कक्षा १२ सम्म नै अङ्ग्रेजी माध्यममा पढाई,प्राय सबै कक्षाहरुमा प्रोजेक्टरको व्यवस्था,विद्यार्थीहरु सबै विद्यालय पोशाकमा (सेटमै),सबै परिक्षाका उत्तरपुस्तिकाहरु फाइलिङ गरी नतिजा प्रकाशनका दिन अभिभावक उपस्थित गराई जानकारी गराइने, साना कक्षाहरुमा विद्यार्थीका झोला झुण्ड्याउन भित्ताहरुमा ह्याङ्गरको व्यवस्था, छुट्टै परिक्षा कक्षको व्यवस्था, कक्षा ८ र SEE नतिजाका आधारमा विषय शिक्षक पुरस्कृत गर्ने व्यवस्था,विद्यालय योजना तर्जुमा समितिको व्यवस्था र सक्रियता,शिक्षक एकता आदि अनुकरणीय अभ्यासका रुपमा ग्रहण गर्दै हामी राजमार्गमै रहेको अर्को सामुदायिक विद्यालय (तनहुँ) को अवलोकनार्थ ३:२५ बजे सितलादेवी मा.वि.बाट बिदावारी भयौं । अपह्रान्ह साँढे चारबजे हामी जनकल्याण मा.वि.को हाताभित्र प्रवेश ग¥यौं । हाम्रो स्वागतार्थ उक्त विद्यालयका प्रधानाध्यापक दिपक ढकाल विद्यालयको प्राङ्गणमा उपस्थित हुनुहुँदो रहेछ । एक आपसमा शिष्टाचार अभिवादनपछि हामी विद्यालयको भौतिक सुविधाहरुको अवलोकन र जानकारी लिंदै केहि नयाँ अभ्यासहरुकाबारेमा जिज्ञासु भइरह्यौं । जनकल्याण मा.वि.गण्डकी प्रदेशको आदर्श विद्यालयको रुपमा विकास हुँदै रहेछ । यस विद्यालयमा पनि ICT Based शिक्षण सिकाइ हुने,अङ्ग्रेजी माध्यममा पढाइ,विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म पढाइ हुने,विद्यालयकको हाताभित्र हरित वातावरण निर्माण आदि अभ्यासमा देखियो । विद्यालयको योगदानलाई कदर गर्दै नगरपालिकाले नमुना विद्यालयको रुपमा घोषणा गरी रु.२५ लाख अनुदान प्रदान गरेको रहेछ । प्रधानाध्यापकलाई हार्दिक धन्यवादसहित नीलकण्ठ नगरपालिकाको मायाको चिनो प्रदान गरेर हामी नगरपालिका फिर्तीका निम्ति आफ्नो यात्रा अघि बढायौं । साँझ साँढे सात बजे वेलुकाको खानाका लागि हामी पहिलो दिन विहान खाना खाएको होटल मस्र्याङ्दी फ्रेस फिस रेष्टुरेण्टमा पुगेर बसको ब्रेक लाग्यो । खाना खाएपछि विभिन्न छलफल गर्दै,भ्रमणको समिक्षा गर्दै हामी राती १०ः३० बजे धादिङवेसी ओर्लियौं ।

शैक्षिक तथा अवलोकन भ्रमणका क्रममा प्राप्त सिकाइ र अवलम्बन गर्न सकिने अभ्यासहरु:
१. नगर शिक्षा समिति/सामाजिक विकास समिति/शिक्षा शाखा: नीति निर्माण
क) नीलकण्ठ नगरपालिकाको सापेक्षतामा हामीले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई स्वरोजगार बनाउन तथा स्थानीय जनताको आर्थिक स्तर उकास्नका निम्ति हाम्रा पर्यटकीय स्थलहरु र स्थानीय संस्कृतिको पहिचान गरी मुख्यत ः तामाङ,गुरुङ,नेवार,कुमाल,व्राह्मण,मगर आदि जातीको सघन वस्ती भएका स्थानहरुमा होमस्टे शिक्षा संचालन गरी नगरपालिकाले विद्यालयमार्फत होमस्टे संचालनका लागि सिकाइमा आधारित अनुदान कार्यक्रम संचालन गर्न सकिने ।
ख) स्थानीय नगर शिक्षा ऐनमा संशोधन तथा परिमार्जन (अन्य पालिकाहरुको अनुभवका आधारमा)
ग) विद्यालयहरुको अनुगमनमा सामिजिक विकास समिति,नगर शिक्षा समिति परिचालन
घ) नगरपालिकाभित्रका विद्यालयहरु तथा शिक्षकहरुलाई कार्यसंपादनका आधारमा पुरस्कृत तथा थप अनुदानको व्यवस्था
ङ) शिक्षा विकास तथा शिक्षकका पेशागत समस्या समाधानका निम्ति विभिन्न कार्यक्रम संचालन जस्तै ः नगरपालिकाको प्रत्यक्ष निगरानीमा केहि विद्यालयहरुको गुणस्तर विकास योजना, प्रसुति सट्टा शिक्षक अनुदान, आदि
२. परिक्षा समिति/विषयगत समिति: प्रश्नपत्र निर्माण र परिक्षा संचालन
क) परिक्षा समय तालिका (त्रैमासिक पाठ्याँश) सहितको वार्षिक क्यालेण्डर प्रकाशन, कार्यान्वयन
ख) नियमित विषयगत प्रश्न भण्डार निर्माण, शुद्धिकरण र प्रकाशन
ग) कक्षा ३ र ५ को स्तरीकृत परिक्षा प्रणालीको व्यवस्थापन
३. प्रधानाध्यापक/शिक्षक: प्रशासनिक सुधार र शिक्षण सिकाइमा सुधार
क) प्रधानाध्यापक सधैं असल अभ्यासहरुको खोज र प्रयोगमा लाग्नुपर्ने
ख) प्रधानाध्यापक पूर्णकालिन हुनुपर्ने
ग) प्रधानाध्यापक गतिशील,सक्रिय,अध्ययनशील, समन्वयकारी, ICT मा दक्ष, प्रशासनिक कुशलता भएको असल व्ंयवस्थापक हुनुपर्ने
४. शिक्षकका पेशागत संस्थाहरु: पेशागत हकहितका अतिरिक्त विद्यालयको आन्तरिक द्धन्द्ध व्यवस्थापक
क) कतिपय विद्यालयहरुको नजरमा शिक्षकका पेशागत संस्थाहरु राजनीतिक प्रेरित भएको र सोही कारण विद्यालयको शिक्षणसिकाइ नकारात्मक रुपमा प्रभावित भएको भन्ने गुनासो भएकाले आफ्नो पेशागत हकहितका अतिरिक्त विद्यालयहरुमा हुने आस्थागत अन्तरसंघर्ष हल गर्न द्धन्द्ध व्यवस्थापकका रुपमा काम गर्नुपर्ने
ख) शिक्षा शाखा,शिक्षा समिति र सामिजिक विकास समितिसंग समन्वय गरी पेशागत समस्या समाधानका निम्ति थप सक्रिय हुनुपर्ने ।
५. भ्रमण व्यवस्थापक:उद्धेश्यपरक र रुटिङमा आधारित बनाउन
क) भ्रमणको उद्धेश्य निश्चित गरी सहभागीहरुलाई लिखित जानकारी गराउने
ख) अवलोकन अध्ययन गरिने स्थलहरुको यकिन गरी पूर्व जानकारी गराउनुपर्ने
ग) सहभागीहरुको आचारसंहिता निर्माण गरी कार्यान्वयन गरिनुपर्ने
घ) बसाई व्यवस्थापन,खानपान व्यवस्थापनमा ध्यान दिनुपर्ने
अन्तमा मानवीय वैयक्तिक विभिन्नताका कारण हरेकले हरेक घटना,विषय र क्रियाकलापलाई आ–आफ्नो कोणबाट बुझ्ने,सिक्ने र व्याख्या विश्लेषण गर्ने भएकाले मैले मेरो व्यक्तिगत नजरबाट नीलकण्ठ नगरपालिकाको यस पटकको ३ दिने भ्रमण (२०७९ पौष ९–११,घलेगाउँ,घान्दु्रक) का क्रममा अनुभूत गरेका देखाइ, सिकाइ र बुझाइलाई शब्दमार्फत अभिव्यक्त गरें । आफ्नो वार्षिक कार्यक्रममा विद्यालयहरुको असल अभ्यास अध्ययन अवलोकन भ्रमणको व्यवस्था गरेकोमा नीलकण्ठ नगरपालिकालाइ धन्यवाद दिन चाहन्छु । नीलकण्ठ नगरपालिकाका यस अघिका शैक्षिक अवलोकन भ्रमणमा सहभागी भएको थिइन । भ्रमणका क्रममा भ्रमणलाई नेतृत्व प्रदान गरी हौसला दिनुहुने नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्मा, नगरपालिकाका सल्लाहकार दिपक कोइराला, शिक्षा शाखाका उपसचिव नारायणप्रसाद वाग्ले, सामाजिक विकास समितिका संयोजक चिनामाया श्रेष्ठ, शिक्षक संघ संगठनका नेतृत्वका साथीहरु, प्रधानाध्यापक साथीहरु,परिक्षा समितिका साथीहरु, विषयगत समितिका साथीहरु लगायत सबै सहभागी साथीहरुप्रति अनुग्रहित हुँदै हामीले सिकाइका अतिरिक्त मनोरञ्जन र ताजगीपन समेत प्राप्त गरेका छौं, यसलाई केवल मनोरञ्जनका रुपमा मात्र ग्रहण नगरी नीलकण्ठ नगरपालिकाको शैक्षिक सुधारका निम्ति केहि योगदान गर्न सकौं र सकिन्छ भन्ने आत्मविश्वासकासाथ आफ्नो कलम बन्द गर्दछु । यो आलेखका कारण कोही कसैलाई नकारात्मक असर परेमा क्षमाप्रार्थी छु । धन्यवाद ।