अमेरिकी ट्रडो आज नेपाल आउँदै

Avatar photo
Dhadingpost
बुधबार, अशोज १२, २०७९

काठमाडौं ।काठमाडौं । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज बुधबार नेपाल भ्रमणमा आउँदै छिन् । उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । गत २७ भदौमा चीनको नेसनल पिपल्स कंगे्रस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगतै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तरक्रियाका लागि नेपाल आउन लागेको’ उल्लेख छ । नेपालमा रहँदा ट्रडोले राजनीतिक दलका शीर्षनेता र विभिन्न व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

सहायक विदेशमन्त्री ट्रडोले रुस र चीनबाट गलत सूचनाको प्रतिरोध, अफगानिस्तानका जनतालाई जारी अमेरिकी समर्थन, सामाजिक समानता, मिडिया स्वतन्त्रता र जलवायु परिवर्तनको मुद्दाको विषयमा नेपालमा विभिन्न व्यक्तिसँग छलफल गर्ने कार्यक्रम छ । नेपाल बसाइमा ट्रडोले अमेरिकी राजदूत सम्पदा संरक्षण कोषले सहयोग गरिरहेका पाटन दरबार क्षेत्र र वसन्तपुर दरबार क्षेत्रलगायत सांस्कृतिक सम्पदा अवलोकन गर्ने छिन् । उनले ग्लोबल पब्लिक अफेयर्स दुबई क्षेत्रीय मिडिया हबको पनि भ्रमण गर्ने छिन् भने मिडियासँग पनि अन्र्तक्रिया गर्ने कार्यक्रम छ ।

१२ दिने भ्रमणमा निस्केकी सहायक विदेशमन्त्री ट्रडोले अमेरिकी कूटनीतिक नियोगसँग नीति तथा कार्यक्रम विषय प्राथमिकतामा राख्ने अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । नेपालपछि उनी संयुक्त अरब इमिरेट्स जाने छिन् । त्यसपछि मध्य एसियाका उज्वेकिस्तान र किर्गिस्तान जाने योजना छ ।