नेकपा धुनिबेसीको सेक्रेटरीमा अर्पण तामाङ चयन

Avatar photo
Dhadingpost
बुधबार, भदौ १५, २०७९

सुन्दर लामा
धादिङ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी धादिङको धुनिबेसी नगरपालिकाको सक्रेटरीमा अर्पण तामाङ चयन भएका छन् । नेकपा धुनिबेसी नगरपालिकाको धार्केमा सम्पन्न प्रथम सम्मेलनले अर्पण तामाङको नेतृत्वमा २१ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

सम्मेलनबाट नवनिर्वाचित कमिटीलाई पार्टीका जिल्ला सेक्रेटरी सृजनले बधाई तथा सफल कार्यकालको शुभकामना दिदै पार्टीले दिइएको जिम्मेवारी गम्भीर रुपमा ग्रहण गर्न निर्देशन दिएका थिए ।

सरकारले तीन बुँदे सहमति विपरीत पार्टीका महासचिव लगायत नेता कार्यकतामाथि पक्राउ पुर्जी जारी गरेर देशलाई द्वन्द्व तिर धकेल्न खोजेको भन्दै सचेत भएर कामकारबाही अगाडी बढाउन उनले कार्यकर्तालाई निर्देशन दिएका थिए । धुनिबेसी नगर कमिटीले धुनिवेशी नगरपालिका भित्र भएका विकृति विसङ्गती, अनियमित, भ्रष्टाचार, वेतिथिका विरुद्ध निर्मम भएर लाग्न समेत जिल्ला सेक्रेटरी सृजनले नव गठित नगर कमिटीलाई निर्देशन दिए ।

सम्मेलनमा जिल्ला समिति सदस्य चिन्तन र माइला गुरुङले स्वागत मन्तव्य र जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम् जनपत्रकार संगठन धादिङका अध्यक्ष सुन्दरले शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी युवा संगठन नेपाल केन्द्रीय सदस्य एवम् धादिङका अध्यक्ष तथा पार्टीका जिल्ला समिति सदस्य अभयले पनि मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन अर्पणले गरेका थिए भने अध्यक्षता निवर्तमान नगर सेक्रेटरी मुकेशले गरेका थिए ।