धादिङका ३ पालिकाले अझै बजेट प्रविष्ट गरेनन्

Avatar photo
Dhadingpost
बुधबार, साउन १८, २०७९

धादिङ । धादिङको १३ वटा पालिका मध्य ३ वटा गाउँपालिकाले गाउँ सभाबाट पास भएको वजेट विवरण अझै प्रविष्ट नगरएको मन्त्रालयले जनाएको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ को उपदफा (६) अनुसार गाउँ सभाले असार मसान्त सम्म आगामी आर्थिक वर्षको वजेट पास गर्नुपर्ने भएपनि धादिङका ३ गाउँपालिकाहरु थाँक्रे, सिद्धलेक र खनियाबासले वजेट विवरण अझै प्रविष्ट नगरएको जनाउँदै तत्काल प्रविष्ट गर्न मन्त्रालयले सूचना मार्फत जनाएको छ ।

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार देशभरका ७५३ स्थानीय तह मध्य १४३ वटा स्थानीय तहले वजेट पास भएको विवरण मन्त्रालयको प्रोर्टलमा प्रविष्ट नगरेको उल्लेख छ । जसमा धादिङका ३ वटा पालिका पनि परेका छन् ।

खनियाबास गाउँपालिकाका प्रशासकीय अधिकृत बालकृष्ण नेपालीले सुत्रबद्ध गर्ने काम भैरहेको र यो सकिना साथ मन्त्रालयको पोर्टलमा प्रविष्ट गरिने बताए । सिद्धलेक गाउँपालिकाका सूचना अधिकारी हरि पाटा मगरले वजेट पास त भएको छ, सुत्रबद्ध गर्न केहि बाँकी भएकोले ढिला हुन गएको हो मन्त्रालयले ताकेता गरि रहेको छ अब १-२ दिनमा प्रविष्ट गरिने बताए । यस्तै थाक्रे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सविन सिंह चौधरीले पनि वजेट पास भई सकेको तर अपलोड हुन मात्रै बाँकी रहेको बताए ।