धादिङमा पानी नपर्दा, अझै आधा खेतमा रोपाई हुन बाँकी

Avatar photo
Dhadingpost
असार ३१, २०७९

विकास रौनियार
धादिङ ।
यो वर्ष औसत भन्दा बढि वर्षा हुने अनुमानका गरिए पनि पानी नपर्दा धादिङका किसानहरुको खेत अझै रोपिन सकेको छैन । कृषि ज्ञान केन्द्र, धादिङले संकलन गरेको डाटा अनुसार धादिङमा अझै आधा खेतमा रोपाई हुनै बाँकी रहेको देखिएको छ । धादिङमा प्रयाप्त वर्षा नहुँदा खोला खेतहरुमा रोपाई भएको देखिए पनि टारी खेतमा अझै रोपाई हुन नसकेको हो ।

अहिले सम्म धादिङमा ४९ प्रतिशतको हाराहारीमा मात्रै रोपाई सकिएको कृषि ज्ञान केन्द्र धादिङले जनाएको छ । तल्लो भाग र बेसीमा खोलाको पानी लगाएर भएपनि कृषकले धान रोप्न सकेका छन् तर माथिल्लो टारी क्षेत्रका खेत अझै रोपाई हुन नसकेको केन्द्रले बताएको छ । प्रयाप्त वर्षा नभएका कारण र समयमा मल उपलब्ध नभएकै कारण रोपाईमा ढिलाई भएको केन्द्रको स्वीकारोक्ती छ ।

केन्द्रले हरेक सोमवार स्थानीय तहबाट धान रोपाई सकिसकेको र बांकी रहेको तथ्यांक लिने गरेको छ भने प्रदेश कार्यालयमा पनि पठाउने गरेको छ । सरकारी निकायले तथ्यांक संकलन गर्ने बाहेक कृषकलाई रोपाईमा सहजीकरण गर्न भने अग्रसरता लिएको देखिँदैन् ।

समयमा मल नपाउँदा र वर्षा पनि प्रयाप्त नभएको अवस्थामा यसपटक सोचे जति धान नफल्ने हो कि भन्ने चिन्ता कृषकमा छ । सरकारी हेलचक्राईले गर्दा धादिङका मात्रै नभएर आम कृषकहरुका लागि सधैं आकाशको मात्रै भर पर्नुपर्ने बिडम्बना अवस्था छ ।