जिसस धादिङको अध्यक्ष माओवादीका नवराज अधिकारीलाई बनाउन तीन दल सहमत

Avatar photo
नारायण सिलवाल
बुधबार, जेष्ठ २५, २०७९

धादिङ । धादिङमा सत्ता गठबन्धनका दलहरुको बैठक सम्पन्न भएको छ । वैठकले जिल्ला समन्वय समितिको प्रमुख माओवादीलाई, उप प्रमुख एकीकृत समाजवादीलाई र ७ सदस्य कांग्रेसलाई दिने निर्णय गरेको छ । समन्वय प्रमुख माओवादीले पाउने भए सँगै गंगाजमुनाका नवराज अधिकारी प्रमुख बन्ने लगभग पक्का पक्की भएको छ ।

अधिकारीले गंगाजमुना गाउँपालिका ५ को सदस्यमा १०९० मत ल्याई विजयी भएका थिए । माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङका अध्यक्ष मनराज भण्डारीले समन्वय प्रमुख अधिकारीलाई बनाउने पार्टी भित्र निर्णय भैसकेको धादिङपोष्टलाई बताए ।

जेष्ठ २९ गते प्रमुख उप प्रमुख सहित ९ सदस्यका लागि जिल्ला समन्वय समिति धादिङको निर्वाचन हुँदैछ । उक्त चुनावमा गठबन्धनदलहरु मिलेर जाने निकर्ष सहित भागबण्डामा सहमति गरेका हुन् । दुई नगरपालिका र ११ वटा गाउँपालिका समेत गरी १३ स्थानीय तह रहेको धादिङमा जिल्ला समन्वय समिति गठनका लागि कसैको पनि स्पष्ट बहुमत पुग्ने देखिदैँन । धादिङमा नेपाली काँग्रेसले सात पालिकामा प्रमुख र पाँचमा उपप्रमुख गरी १२ भोट, माओवादी केन्द्रको ३ प्रमुख ५ उपप्रमुख गरी ८ भोट, एकीकृत समाजवादी सँग १ प्रमुख र ३ उप्रमुख गरी ४ भोट छ भने एमाले २ प्रमुखको २ भोट मात्रै छ ।

यस्तो छ निर्वाचन कार्यतालिका
१. मतदाता नामावली प्रकाशन : २०७९ जेठ २७, बिहान ७:०० बजे
२. अन्तिम मतदाता नामावली प्रकाशन : २०७९ जेठ २७, दिनको १:०० बजे- २:०० बजेसम्म
३. उम्मेदवारी मनोनयन दर्ता : २०७९ जेठ २७, दिनको २:०० बजे- ४:०० बजेसम्म
४. उम्मेदवारको अन्तिम नामावली प्रकाशन : २०७९ जेठ २८, दिनको २:४५ बजे- ३:०० बजेसम्म
५. मतदान : २०७९ जेठ २९, दिनको ११:०० बजे- १:०० बजेसम्म

दुई नगरपालिका र एघार गाउँपालिका रहेको धादिङ जिल्लाको जिल्लासभामा नगरपालिका प्रमुख र उपप्रमुख तथा सबै गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा २६ जना रहन्छन् । जिल्ला समन्वय समिति न्यूनतम छ देखि बढीमा नौ सदस्य हुन्छ । जिल्ला समन्वय समितिमा एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, दलित र अल्पसंख्यक समुदायबाट एक र अन्य तीन गरी बढीमा नौ सदस्य रहन्छन् ।