
धादिङ । धादिङका मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले जिल्ला समन्वय समिति धादिङको निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । तालिका अनुसार प्रमुख र उप प्रमुख सहित ९ सदस्यका लागि जेष्ठ २९ गते मतदान हुने छ ।
निर्वाचन कार्यतालिका
१. मतदाता नामावली प्रकाशन : २०७९ जेठ २७, बिहान ७:०० बजे
२. अन्तिम मतदाता नामावली प्रकाशन : २०७९ जेठ २७, दिनको १:०० बजे- २:०० बजेसम्म
३. उम्मेदवारी मनोनयन दर्ता : २०७९ जेठ २७, दिनको २:०० बजे- ४:०० बजेसम्म
४. उम्मेदवारको अन्तिम नामावली प्रकाशन : २०७९ जेठ २८, दिनको २:४५ बजे- ३:०० बजेसम्म
५. मतदान : २०७९ जेठ २९, दिनको ११:०० बजे- १:०० बजेसम्म
कार्य तालिका अनुसार समन्वयको निर्वाचनका लागि कुनै एकदलको बहुमत छैन तथापी कांग्रेस र माओवादीले प्रमुख पदका लागि कसरत गरि रहका छन् । बहुमतको लागि कांग्रेस र माओवादी नै अन्य दलको भर पर्नुपर्ने हुन्छ ।
दुई नगरपालिका र ११ वटा गाउँपालिका समेत गरी १३ स्थानीय तह रहेको धादिङमा जिल्ला समन्वय समिति गठनका लागि कसैको पनि स्पष्ट बहुमत पुग्ने देखिदैँन । धादिङमा नेपाली काँग्रेसले सात पालिकामा प्रमुख र पाँचमा उपप्रमुख जितेको छ । माओवादी केन्द्रले ३ प्रमुख ५ उपप्रमुख जितेको छ भने एससंग १ जना प्रमुख र ३ जना उप्रमुख छन । त्यसै गरी एमाले संग २ जना प्रमुख छन् । जिल्लामा प्रमुख र उपप्रमुख गरी १४ पुर्याउँदा समन्वय समिति एकलौटी बन्छ । तर, कुनैपनि पार्टीको एकलौटी १४ जना प्रमुख र उपप्रमुख पुग्दैन । समन्वय समिति बनाउनका लागि नेपाली काँग्रेसले कुनै एक दल वा अन्य तीन दल मिल्दा बहुमत पुग्छ ।
दुई नगरपालिका र एघार गाउँपालिका रहेको धादिङ जिल्लाको जिल्लासभामा नगरपालिका प्रमुख र उपप्रमुख तथा सबै गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा २६ जना रहन्छन् । जिल्ला समन्वय समिति न्यूनतम छ देखि बढीमा नौ सदस्य हुन्छ । जिल्ला समन्वय समितिमा एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, दलित र अल्पसंख्यक समुदायबाट एक र अन्य तीन गरी बढीमा नौ सदस्य रहन्छन् । जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवार बन्ने अधिकार उक्त जिल्लाका सबै गाउँसभा र नगरसभाका सदस्यलाई हुन्छ भने मतदान गर्ने अधिकार जिल्ला सभाका सदस्यलाई मात्र हुन्छ ।
माओवादी केन्द्रले जिल्ला समन्वय प्रमुखका गंगाजमुना गाउँपालिकाका नवराज अधिकारीलाई अगाडी सारेको छ भने कांग्रेसले पनि समन्वय प्रमुखमा गजुरीका सुरेन्द्र प्रजा र नीलकण्ठ १२ का राम प्रसाद रिजाल मध्य एकलाई समन्वय प्रमुख बनाउने बताएको छ ।
