
धादिङ । धादिङ जिल्लाको नमुना बंगुर फार्मलाई ४० लाख रुपैयाँ अनुदान दिन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे मार्फत उनका स्वकिय सचिव प्रबिण केसीले कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईंको कार्यकक्षमै अनुदान रकम उपलब्ध नगराए सिध्याइदिने धम्की दिएको खवरहरु मिडियामा आए सँगै एमालेले बिहिबारको प्रदेश सभा वैठक २ घण्टा अवरोध गरेको थियो ।
प्रदेशका प्रमुख सचिबको संयोजकत्वमा छानविन समिति गठन गरिने र एमालेले उठाएका विषयमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सदनमा जवाफ दिने भएपछि मात्रै प्रदेशसभा बैठक सुचारु भएको थियो । पाण्डेले आफ्ना अनुकुलका व्यक्तिलाई नियम विपरित ४० लाख अनुदान नदिएपछी मातहतका कर्मचारीको सरुवा गरेको रहस्य खुलेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाले चालु आर्थिक वर्षमा पशु स्रोत केन्द्र निर्माणका लागि भनेर एक करोड ६० लाख रुपैयाँ बजेट छुट्याएको थियो । पशु स्रोत केन्द्र स्थापना गर्ने कार्यक्रम अन्तरगत गाईका लागि ४० लाख, भैंसीका लागि ४० लाख, बाख्राका लागि ४० लाख र बंगुरका लागि ४० लाख रुपैयाँ छुट्याएको थियो ।
त्यस मध्यमा बंगुरको श्रोत केन्द्रका लागि भनेर धादिङको नमुना बंगुर फार्मलाईनै कार्यबिधि बिपरित दिनका लागि मुख्यमन्त्री पाण्डे, पाण्डेका स्वकीय सचिब, मन्त्री हुमागाईं र सचिब पाण्डेले निरन्तर दवाव दिएका थिए । तर, यसमा छनोट गर्ने कर्मचारीहरुले प्रकाशित सूचना, नियम र कार्यबिधिलाई टेकेर निर्णय गरेलगतै तीन जना कर्मचारीलाई कार्बाही स्वरुप सरुवा गरिएको स्रोतले जनाएको छ ।
श्रोत केन्द्र स्थापना सम्वन्धी कार्यक्रम मुल्याङकन समितिका संयोजक तथा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका डाक्टर धुर्ब डिसिलाई दोलखा सरुवा गरिएको छ । चार महिना अगाडि मात्र निर्देशनालयमा सरुवा गरिएका डिसिलाई दोलखा सरुवा गरिएको हो ।
श्रोत केन्द्र स्थापना सम्वन्धी कार्यक्रममा बंगुर पालन गर्ने धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका बस्ने कुल बहादुर तामाङ्गलाई दिनका लागि मुख्यमन्त्री, मन्त्री र सचिबले बारम्बार दबाव दिनु भएको थियो । उहाँलाई ४० लाख रुपैयाँ अनुदान रकम दिनका लागि कार्यबिधि बिपरित हुने भएपछी त्यसमा निर्णय गर्न नसकिएको मुल्याङकन समितिका संयोजक डिसि बताउँछन् । कार्यबिधिमा ३० वटा बंगुर पालन गरेको हुनुपर्ने नियम छ । तर, कुल बहादुर तामाङ्गको खोरमा १६ वटा मात्र बंगुर पालना गरिएकाले कार्यबिधि विपरित निर्णय गर्न नसकिएको उनी बताउँछन् ।
