खनियाबासमा पुतलीलाई भोट माग्दै, एमाले प्रदेश सदस्य मंग

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २६, २०७९

धादिङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को बागमती प्रदेश समिति सदस्य मंगबहादुर तामाङ खनियाबास गाउँपालिकाका नेपाली कांग्रेसका बागी उम्मेदवार फुलबहादुर तामाङको प्रचारमा देखिएका छन् । उनी खनियाबास गाउँपालिका अध्यक्षका स्वतन्त्र उम्मेदवार फुलबहादुर तामाङको चुनाव चिन्ह पुतलीलाई भोट मागि रहेका छन् ।

फुलबहादुर तामाङ खनियाबास गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली कांग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार हुन् । पार्टीले पटकपटक उम्मेदवारी फिर्ता लिई पार्टीको आधिकारिक उम्मेदवार रणबहादुर तामाङ र गठबन्धनका पक्षमा सहयोग गर्न आग्रह गरेपनि नमानेपछि नेपाली कांग्रेस, धादिङका सभापति रामनाथ अधिकारीले गत वैशाख २२ गते एक विज्ञप्ति प्रकाशित गर्दै बागी उम्मेदवार फुलबहादुर तामाङलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरि सकेका छन् ।

एमाले बागमती प्रदेश कमिटी सदस्य मंगबहादुर तामाङ भने आफ्नो पार्टीका अध्यक्षका उम्मेदवार इमान तामाङको प्रचारमा भन्दा उनै स्वतन्त्र उम्मेदवारको प्रचारमा जुटेका छन् । उनले पटक पटक सामाजिक सञ्जाल मार्फत खनियाबास गाउँपालिकाको अध्यक्ष पदका लागि चुनाव चिन्ह पुतलीमा भोट हाली स्वतन्त्र उम्मेदवार फुलबहादुर तामाङलाई जिताउन सार्वजनिक अपिल गरेका छन् ।

मंगबहादुर तामाङ आफैं पनि खनियाबास गाउँपालिकाको अध्यक्ष पदका दाबेदार थिए । पार्टीले टिकट दिने विश्वासमा रहेका उनले एक महिना अगावै ७ पेजको घोषणापत्र सार्वजनिक गरेका थिए । सामाजिक कार्यमा सक्रिय रहेका तामाङले टिकट पाउने आम गाउँपालिकाबासीको पनि विश्वास रहेको थियो । उनले आफू उम्मेदवार हुने भन्दै पहिल्यैदेखि प्रचार गर्दै आएका थिए । तर अन्तिम समयमा आएर एमाले भित्रको गुटको चेपेटाले बादल सँगै एमाले बनेका मंगले टिकट पाउन सकेनन् ।

पार्टीले टिकट नदिएपछि असन्तुष्ट रहेका उनी पार्टीका अध्यक्ष पदका उम्मेदवार इमान तामाङ लगायत पार्टीका आधिकारिक उम्मेदवारहरूलाई सहयोग नगरी कांग्रेसका बागी फुलबहादुर तामाङको पक्षमा खुलेर लागेका छन् । उनले आफ्नै वडामा पनि पार्टीका तर्फबाट वडा अध्यक्षका उम्मेदवार पन्थ तामाङलाई सहयोग नगरी नेकपा (एकीकृत समाजवादी) का वडा अध्यक्षका उम्मेदवार सुके बहादुर गुरुङलाई सहयोग गरिरहेको बताईन्छ ।

हामीले तपाई किन पार्टीको उम्मेदवारलाई सहयोग नगरि अन्य उम्मेदवारको पक्षमा देखिनु भयो भनेर प्रश्न गर्दा मंग भन्दछन्, हाम्रा हैन राम्रालाई जिताउनु पर्छ । गाउँको विकास गर्नु छ, अध्यक्षमा फुलबहादुर तामाङ भन्दा योग्य र राम्रा उम्मेदवार अरु भएनन् त्यहि भएर फुलबहादुरको पक्षमा छु । उनी स्वतन्त्रबाट उठेकोले कुनै पनि पार्टीको विल्ला पनि लागेन अब ढुक्क भएर जनाको सेवामा समर्पित पनि हुन्छन् स्थानीय मतदाताहरुको मन जितेका छन् त्यहि भएर योग्य उम्मेदवारको प्रचारमा रहेको उनी बताउँछन् ।