सिद्धलेकमा २ वटा वडा मात्रै माओवादीलाई, दुबैमा कांग्रेसबाट बागी उम्मेदवार

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २०, २०७९

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा सत्ता गठबन्धनका दलहरुले वडा सम्म नै सहमति गरि साझा उम्मेदवार खडा गरेका छन् । सहमति अनुसार माओवादी केन्द्रले सिद्धलेकमा २ वटा वडा मात्रै उम्मेदवार उठायो तर यी दुबैमा कांग्रेसले बागी उम्मदवार उठाएको छ ।

गठबन्धनको सहमति अनुसार गाउँपालिकाको अध्यक्षमा सहित २,३,६,७ वडा अध्यक्षको उम्मेदवार कांग्रेसको छ, भने पालिका उपाध्यक्ष सहित वडा नम्बर ४ मा समाजवादीले उम्मेदवार उठाएको छ, यस्तै माओवादी केन्द्रले १ र ५ नम्बर वडामा उम्मेदवार उठाए पनि यी दुबै वडामा कांग्रेसबाट वागी उम्मेदवार रहेका छन् ।

सत्ता गठबन्धनको सहमतीले अध्यक्ष सहित ४ वटा वडा पाएको कांग्रेसले नै माओवादीले पाएको दुई वटा वडामा वागी उम्मेदवार उठाएपछि सिद्धलेकमा माओवादी कार्यकर्ताहरु कांग्रेस सँग रुष्ट बन्दै गएको पाईन्छ ।

माओवादीले पाएको सिद्धलेक १ साझा उम्मेदवारको रुपमा पेमा तामाङ रहका छन् तर कांग्रेसका केशव अर्याल र बलबहादुर इटनी स्वतन्त्र उम्मेदवार छन् । यति मात्रै हैन पूर्ववत सहमति अनुसार माओवादीले पाउने भनिएको वडा सदस्यमा पनि कांग्रसले आफूले पाउनु पर्ने दावी गर्न थालेको र उम्मेदवार उठाएको बताईएको छ ।

यस्तै माओवादी केन्द्रले पाएको वडा नम्बर ५ मा बुधे घले गठबन्धनको साझा उम्मेदवार हुन तथापी यहाँ पनि कांग्रेसका रकिम अन्सारी स्वतन्त्र उम्मेदवार छन् ।