धादिङमा एकीकृत समाजवादी, दुई अध्यक्ष र ४ उपाध्यक्षका लागि एमाले सँग भिड्दै

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख १५, २०७९

धादिङ । एमाले विभाजनबाट बनेको एकीकृत समाजवादीले कांग्रेस र माओवादीको समर्थनमा धादिङका दुई गाउँपालिकामा एमाले सँग चुनावी भिडन्त गर्दैछ । कांग्रेस र माओवादीको समर्थनमा समाजवादीले धादिङको धुनीबेसी नगरपालिका र गल्छी गाउँपालिका अध्यक्षका लागि एमाले सँग भिड्न लागेको हो ।

एकीकृत समाजवादीका उच्च तहका नेता राजेन्द्रप्रसाद पाण्डे, गंगालाल तुलाधर, गुरुप्रसाद बुर्लाकोटी र सुवास खतिवडाहरु आफ्नो साख जोगाउन गठबन्धनको सहयोग पाएको यी दुई पालिकामा एमालेलाई हराउन समाजवादी जोडतोडले प्रस्तुत हुने तयारीमा छ ।

धुनीवेशी नगरपालिकामा एमालेबाट निर्वाचित मेयर बालकृष्ण आचार्यले यसपटक एकीकृत समाजवादीबाट मेयरको टिकट पाएका छन् । अघिल्लो निर्वाचनमा उनी ६ हजार ६४४ मत पाएर विजयी भएका थिए । त्यसबेला माओवादी केन्द्रले ४ हजार ३३५ र कांग्रेसले ३ हजार ९२३ मत ल्याएको थियो ।

गठबन्धनका आधारबाट हेर्दा अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादीले मात्रै पाएको मत जोड्न सकिन्छ, यसो गर्दा एकीकृत समाजवादीको पक्षमा करिब ९ हजार मत पुग्छ । यस क्षेत्रमा एकीकृत समाजवादीका राम्रै कार्यकर्ता रहेको आकलन गरिएको छ । धुनीवेशीमा गठबन्धन कायम रहेको अवस्थामा आचार्य निर्वाचित हुने बलियो सम्भावना रहेको नेताहरू बताउँछन् । यद्यपि, एमालेमा भोट हाल्दै आएका पुराना मतदाताले यसपालि के गर्छन्, यसै भन्न सकिँदैन । धुनीवेशीमा एमालेले रामराजा पाण्डेलाई मेयरको उम्मेदवार बनाएको छ ।

यस्तै गल्छी गाउँपालिका गल्छीमा कृष्णहरि श्रेष्ठलाई एकीकृत समाजवादीले अध्यक्षको उम्मेदवार बनाएको छ । उनी अघिल्लोपटकको निर्वाचनमा एमालेबाट ६ हजार ५१ मत ल्याएर निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा कांग्रेसले ५ हजार २०७ र माओवादी केन्द्रले २१० मत ल्याएका थिए । यस हिसाबमा गठबन्धनमा माओवादी र कांग्रेसको मात्रै साढे ५ हजार मत रहेको छ । गल्छीमा एमालेले केदार खतिवडालाई अध्यक्षको उम्मेदवार बनाएको छ । खतिवडा गठबन्धनका लागि चुनौति बनेर उभिएका छन् । स्थानीय स्तरमा प्रभावशाली मानिने खतिवडाले भव्य तामाझामका साथ आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।

एकीकृत समाजवादीले उपप्रमुख पदका लागि भने सहमति अनुसारकै मनोनयन दर्ता गराएको छ । जसअनुसार बेनीघाटमा टापबहादुर श्रेष्ठ, सिद्धलेकमा सविता अर्याल, ज्वालामुखीमा धर्म अर्याल र गंगाजमुनामा नारायणबहादुर कार्की रहेका छन् । उपाध्यक्ष पदमा भने गठबन्धन दलभित्रबाट समेत उम्मेदवारी परेको छ । ज्वालामुखीमा माओवादी केन्द्रकी लक्ष्मी थापाले उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् भने बेनीघाट रोराङमा कांग्रेसकी सुशीला मगरले उम्मेदवारी दिएकी छन् ।

ज्वालामुखी गाउँपालिकाको उपाध्यक्षका लागि एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका धर्म अर्याल गठबन्धनको सहमति अनुसार अघि बढेको अवस्थामा मात्रै सबैको भलो हुने बताउँछन् । सहमति विपरीतका गतिविधि भए नकारात्मक परिणाम आउने कारण अन्तिम समयसम्म सहमति जुटाउने प्रयास हुने उनले बताए ।