चिनियाँ विदेशमन्त्री वाङ किन नेपाल आउँदै छन् ?

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र १, २०७८

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारीमा रहेका छन् । आउँदो चैत दोस्रो साता विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा रहेको अनौपचारिक जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयका एक अधिकारी जानकारी दिए ।

विदेशमन्त्री वाङको भ्रमणको विषयमा परराष्ट्र मन्त्रालयले अन्य मन्त्रालयसँग सम्भावित एजेन्डाको विषयमा गृहकार्य गरिरहेको एक सरकारी अधिकारीले बताए । नेपालमा अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसद्बाट पारित भएपछि चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

१३ साउनमा शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमण गर्ने पहिलो विशिष्ट पाउन हुनेछन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार यसअघि नै चीनका विदेशमन्त्रीले गत अक्टोबरमा परराष्ट्रमन्त्री नारायण खड्कालाई चीन भ्रमणको निमन्त्रणा दिएको थियो । तर, सो समयमा नेपालबाट चीनका लागि कुनै पनि उडान नभएकाले खड्का बेइजिङ जान सकेका थिएनन् ।

पछिल्लो समय अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुदानको विषयमा बेइजिङले अमेरिकाको खुलेर आलोचना मात्रै गरेन कडा आपत्ति पनि जनाइरहेका बेला उत्तरी छिमेकी मुलुक चीनले पठाउन लागेको प्रतिनिधिमण्डल पठाउन खोज्नुलाई निकै चासोका साथ हेरिएको छ । राजधानी दैनिकबाट