कांग्रेसलाई सिंहासनमा हामीले पुर्‍याएको हौं, हामीलाई नै हेप्ने ? -प्रचण्ड

Avatar photo
Dhadingpost
फाल्गुन २५, २०७८

काठमाडौं । बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरुको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

कांग्रेस नेताहरुको अभिव्यक्तिप्रति कटाक्ष गर्दै प्रचण्डले भने, ‘हामी एक्लै चुनाव लड्न पनि सक्षम छौँ। कांग्रेसको प्रत्यक्षमा हाम्रोभन्दा १० सिट कम हो। तर, हामीले नै बोकेर सिंहासनमा पुर्‍याइदिएका छौँ । अहिले हामीलाई नै अपमान गर्ने? यस्तो सहन सकिँदैन ।’

गत शनिबार कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई हात्तीको संज्ञा दिँदै गठबन्धनमा सामेल रहेको माओवादी र एकीकृत समाजवादी पार्टीलाई चमेरोको भएको टिप्पणी गरेका थिए ।

प्रचण्ड र माधव नेपाललाई लक्षित गरेर उपसभापति गुरुङले भनेका थिए, ‘कांग्रेस हात्ती भएको र हात्तीको ठूलो कानमा चमेरोहरू ओत लाग्न खोजेका छन् । चमेरोहरूलाई हात्तीले सहयोग गर्न सक्दैन । त्यसले हात्तीलाई दुर्गन्धित बनाउन सक्छ। हामी लम्किँदा मुसाले बाटो काट्दैमा केही हुँदैन ।’

त्यसो त आगामी निर्वाचनमा प्रचण्ड माधवले चार दलीय गठबन्धनलाई निरन्तरता दिन चाहेको भएपनि कांग्रेसका महामन्त्री गगन थापा, नेताहरु शेखर कोइरालालगायत नेताहरु गठबन्धन गर्न नहुने पक्षमा छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन कायमै राख्नेबारे लचिलो छन् । तर, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने आगामी स्थानीय चुनावमा सत्ता गठबन्धनभित्रको तालमेलबारे अहिल्यै नै बोल्नु हतार हुने प्रतिक्रिया दिए ।

एक महिने चुनावी अभियानबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले गठबन्धनको चुनावी तालमेलबारे बोल्नुपर्ने आवश्यकता छैन, कसो गर्दा बढी सिट जितिन्छ त्यसैअनुसार अघि बढ्ने निर्णय हुन्छ ।’