गोरखालाई दुईटा जिल्ला बनाउन माग

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १७, २०७८

गोरखा । गोरखाको धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकालाई अलग्गै जिल्लाको माग राख्दै पहल गर्न समन्वय समितिसमेत गठन गरेका छन् ।

यी दुई गाउँपालिकाका क्रियाशील राजनीतिकदलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माछाखोलामा सम्पन्न संयुक्त बैठकले अलग्गै जिल्ला बनाउन माग गरेका हुन् ।

‘धार्चे र चुमनुब्री गाउँपालिकामा एउटा पनि स्वीकृत माध्यमिक तहको विद्यालय छैन, अस्पताल छैन’, कार्कीले भने, ‘दुर्गममा रहेकाले सरकारको नजर पर्दैन । कर्मचारीहरु सदरमुकाम छाड्दैनन् । गाउँपालिकामा जाँदैनन् । के पञ्चायतकाल, के प्रजातन्त्र, के गणतन्त्र यहाँका जनताले सरकारको प्रत्याभूति पाएकै छैनन् । त्यसैले जिल्ला नै छुट्टै भयो भने त कम्तिमा कर्मचारी त बस्छन् ।

प्रतिनिधिसभा, प्रदेशसभामा प्रतिनिधित्व गर्ने स्थानीय जनप्रतिनिधि भयो भने यहाँको समस्याको सम्बोधन हुन्छ कि भन्ने आशाले छुट्टै जिल्ला माग गरिएको हो ।’ छुट्टै जिल्ला दावी गर्नका लागि तर्कसंगत आधार र कारणहरु पर्याप्त रहेको उनको भनाइ छ ।

‘गोरखा जिल्लाको क्षेत्रफल ३,६१० बर्गकिलोमिटरमध्य चुमनुब्री र धार्चेको मात्रै २,२०० बर्गकिलोमिटर अर्थात ६० प्रतिशत क्षेत्रफल छ’, उनले भने, ‘जनसंख्या हिसाब गर्ने हो भने मनाङ जिल्लाको ६,५०० छ । हाम्रो दुई गाउँपालिकाको जनसंख्या २१,३५२ छ । त्यसैले धार्चे र चुमनुब्रीको विकासका लागि छुट्टै जिल्ला बनाउनु जरुरी छ ।’