रुसद्वारा चेर्नोबिल कब्जा, १३७ युक्रेनीको मृत्यु

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १३, २०७८

काठमाडौं । रुसी सेनाको आक्रमणबाट हालसम्म १ सय ३७ युक्रेनीको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिक अड्डामा मात्र आक्रमण गर्ने दाबी गरे पनि त्यसमा सत्यता नभएको बताउँदै राष्ट्रपति जेलेन्स्कीले अहिलेसम्म १ सय ३७ जनाको मृत्यु भएको दाबी गरेका हुन् ।

रुसी सेनाले चेर्नोबिलमा रहेको रेडियोधर्मी पदार्थ रहेको स्थानमा हमला गरेपछि त्यहाँको चेर्नोबिल न्युक्लियर प्लान्टसमेत कब्जा गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । चोर्नेबिल कब्जा गरेसँगै रुसले युक्रेनमात्र नभएर पूरा युरोपविरुद्ध युद्धको घोषणा गरेको युक्रेनी राष्ट्रपति जोलेन्स्कीले बताएका छन् ।

बेलारुस र युक्रेनको सीमानजिकै रहेको चेर्नोबिल न्युक्लियर प्लान्टमा अहिले पनि ठूलो परिमाणमा असुरक्षित रेडियोधर्मी पदार्थ भण्डारण गरिएको छ । त्यसको सुरक्षाका लागि युक्रेनी नेसनल गार्ड खटाइए पनि रुसले कब्जामा लिइसकेको बताइएको छ । रुसी सेनाको हमलाबाट यसअघि झैं पुनः न्युक्लियर प्लान्ट पुनः विस्फोट हुन सक्ने आकलनहरू गरिएका छन् ।

उक्त प्लान्ट विस्फोट भए त्यसको असर पूरै युरोपमा पर्ने बताइएको छ । १९८६ मा ब्लास्ट हुँदा १०० जनाभन्दा कमको मृत्यु भए पनि त्यसकै कारण पछिसम्म स्थानीयको मृत्यु भएको बताइन्छ ।

सन् १९८६ पछि पनि पटक-पटक दुर्घटना भएपछि चेर्नोबिल न्युक्लियर प्लान्टलाई सन् २००० मा बन्द गरिएको थियो । सन् २०६५ सम्म त्यहाँ रहेको असुरक्षित रेडियोधर्मी पदार्थ हटाइने युक्रेनको तयारी थियो ।

बिहीबार रुसले युक्रेनका विभिन्न स्थानमा क्षेप्यास्त्र प्रहारसहित सैन्य आक्रमण सुरु गरेपछि दुई देशबीच मात्रै होइन विश्व राजनीति नै तरंगित भएको छ । तस्बिर : रोयटर्स