युक्रेनमा १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १३, २०७८

काठमाडौं । रुससँग विभिन्न स्थानमा युद्ध भइरहेको अवस्थामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् ।

युक्रनेको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ । जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ भने १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताइएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि के भयो ?

  • रुसी सेनाले युक्रेनमा ठूलो सैन्य आक्रमण थालेपछि ठूला सहरनजिकै क्षेप्यास्त्र प्रहार तथा विस्फोटन भएका विवरणहरू प्राप्त भएका छन्
  • युक्रेनको सेनाले कम्तीमा छवटा रुसी विमान खसालिदिएको दाबी गरेको छ भने कम्तीमा ४० युक्रेनी सैनिकको मृत्यु भएको जनाएको छ
  • युक्रेनमा केही सर्वसाधारण नागरिकको पनि मृत्यु भएको विवरण प्राप्त भएको छ
  • मानिसहरू युक्रेनको राजधानी किएभ छोडेर अन्यत्र जाने प्रयास गरिरहेका छन्, रुसी आक्रमणका कारण मानिसहरू स्तब्ध देखिन्छन्, राजधानीमा सम्भावित हवाई आक्रमणको चेतावनी दिन साइरन बजाइएको छ
  • नेटो प्रमुख जेन्स स्टोल्टनबर्गले रुसी आक्रमणको निन्दा गरेका छन्
  • यूकेका प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा “हिंसाको ज्वारभाटा” उत्पन्न गराएको टिप्पणी गरेका छन्
  • यूके, ईयू र अन्य पश्चिमा साझेदार राष्ट्रहरूले रुसलाई दण्डित गर्न रुसविरुद्ध थप प्रतिबन्ध लगाउने वाचा गरेका छन्, तर उनीहरूले आफ्नो सेना नपठाउने भएका छन्
  • भ्लादिमिर पुटिनले कसैले रुससँग जोरी खोज्ने प्रयास गरे तत्काल प्रतिकार गर्ने चेतावनी दिएका छन्

एउटा भिडिओ सन्देशमा राष्ट्रपति जेलेन्सकीले रुसी आक्रमणको पहिलो दिन १३७ युक्रेनीहरूले ज्यान गुमाएको बताएका छन् । क्रेनको सेनाका अनुसार रुसले राजधानी किएभ घेर्ने अनि ब्ल्याक सीको तटसम्म पुग्ने बाटो सुरक्षित गर्ने रणनीति बनाएको छ । युक्रेनको सेनाले रुसी हमलाको जवाफमा आक्रमण गरिरहेको बताएको छ ।

युक्रेनमा भएका नेपालीलाई यस्तो छ सुझाव
जर्मनीस्थित नेपाली राजदूवासले युक्रेनमा रहेका नेपालीहरूलाई हवाईमार्गबाट तत्काल देश छोड्न सम्भव नदेखिएको भन्दै आफू सुरक्षित रहन र सम्भव भए सडक वा तथा रेलमार्गबाट पश्चिमी युक्रेनतिर अझ सुरक्षित स्थानमा जान सुझाव दिएको छ ।

एउटा विज्ञप्तिमार्फत् दूतावासले नेपाली नागरिकहरूलाई संयमित भई अहिले आफू बसोबास गरेको स्थानमा घरभित्रै बस्न र युक्रेन सरकार तथा अन्य निकायले जारी गरेको निर्देशन पालना गर्न लगायत विभिन्न सुझाव दिएको छ । स्रोत बीबीसी